Logo

गोरखा’ ब्रान्डमार्फत जिल्लाको समृद्धि सम्भव : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ‘गोरखा’ ब्रान्डमार्फत जिल्लाको समृद्धि सम्भव भएको बताएका छन् । संसारभर गोरखाको आफ्नै पहिचान रहेकाले जिल्लाको उत्पादनलाई गोरखा ब्रान्डका रूपमा निर्यात गरेर समृद्धि ल्याउन सबै पक्ष मिल्नुपर्ने उनले बताए । गोरखा उद्योग वाणिज्य महासंघको ४५ औं साधारणसभालाई सम्बोधन गर्दै उनले साना र मझौला उद्योगमार्फत समृद्धि सम्भव भएको दाबी गरे । “यहाँ आफैंले उत्पादन गरेको चिज संसारभर फैलाउन सकिन्छ,” उनले भने, “गोरखाको बहादुरी र विरता संसारभर चर्चित छ ।
त्यो ब्रान्डसँग जोडेर हामी यहाँका सुन्तला, हस्तकलाका सामग्रीहरू गोरखामा बनेको भनेर बाहिरी देशमा पनि बिक्री गर्न सकिन्छ । व्यवसायीहरू त्यसतर्फ लाग्नुहोस् ।” साना तथा मझौला व्यवसाय प्रवद्र्धनका लागि एक्सपर्ट हाउसको आबश्यकता रहेको उनले औंल्याए । “आफैं बजार खोज्न नसक्ने उत्पादकलाई बजारको व्यवस्थाका लागि एक्सपर्ट हाउस आवश्यक छ,” उनले भने, ‘अब महासंघले साना व्यवसायीलाई लगानीका लागी अवसरको खोजी गर्छ ।”
सरकारले उद्योगी ब्यबसायीलाई सहुलियत ब्याजदरमा लगानी गर्नुपर्नेमा उल्टो बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा आफूहरू मारमा परेको उनले बताए । व्यवसायीले उद्योग व्यवसाय बन्द गर्ने अवस्था आएमा रोजगारी दिन नसक्दा सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम पनि प्रभावीत हुनसक्ने भन्दै उनले ब्याजदर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य राजन श्रेष्ठले सरकारले चर्को ब्याजदर नियन्त्रण नगरे आन्दोलनका लागि तयार रहन व्यवसायीलाई निर्देशन दिए । नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश अध्यक्ष संजिव कोईराला र प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले बैंकहरूले मनपरी सेवा शुल्क लिएर व्यवसायीमाथि शोषण गरेको आरोप लगाए । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले कानुन मिचेर व्यक्तिगत फाइदामा लाग्ने व्यवसायीलाई प्रशासनले छुट नदिने जिकिर गरे ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सरकारका नीति नियम र मापदण्डले व्यवसायी मर्कामा परेको बताए । उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष जीवनज्योति श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका विश्वदेव श्रेष्ठ, नयाँ शक्ति नेपालका ज्ञानेन्द्र कुमाल, पूर्वअध्यक्ष ईश्वरकाजी मास्के, संस्थापक सचिव धीरजबहादुर मास्के, संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । संघमा जिल्लाका १२ सय ५६ व्यवसायी आबद्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस्