वीरगन्जमा शीतभण्डार निर्माण हुने «

वीरगन्जमा शीतभण्डार निर्माण हुने

वीरगन्जमा शीत भण्डार निर्माण हुने भएको छ । शीतभण्डार निर्माणको प्रदेश नं २ का भूमि ब्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले शुक्रबार शिलान्यास गरेका छन् ।
प्रदेशको गौरवको रूपमा लिइएको प्रत्येक जिल्लामा एक–एक वटा शीतभण्डार निर्माण योजनाअन्तर्गत वीरगन्ज महानगरको वडा नं २६ सुगौलीमा निर्माण हुन लागेको शीतभण्डारको मन्त्री साहले शीतभण्डारको शिलान्यास गरेका हुन् । शीतभण्डारको शिलान्यास गर्दै मन्त्री साहले प्रदेशको समृद्धिका लागि कृषि, उद्योग र पर्यटनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको बताए । उनले कृषि प्रधान देश नेपाल भनेर कागजमा मात्रै सीमित रहेको भन्दै यसलाई व्यवहारमा नै काम गरेर देखाउनका लागि प्रदेश सरकारले नीति तथा योजना बनाएको बताए । कृषिमा नै आधारित रहेर प्रदेशलाई समृद्ध बनाउनुपर्ने बताउँदै उनले किसानको मुख्य समस्या सिँचाइ, बीउबीजन र बजार व्यवस्थापन नै मुख्य रहेकाले यसको समाधानका लागि आवश्यक ऐन कानुन प्रदेश सरकारले बनाइरहेको जानकारी दिए ।
प्रदेश सरकारले ‘हरखेतमे पानी, हर हातमे रोजगारी’ भन्ने नारा लिएको बताउँदै जल, जमिन, जनशक्ति र जैविक विविधतालाई केन्द्रमा राखेर कृषि उद्योगलाई यान्त्रिकरणमार्फत व्यवसायीकरण गर्दै लाने बताए । बीउबीजन प्रयोगशाला निर्माण भइसकेको जानकारी दिँदै उनले अब किसानको लागत मूल्य घटाउनेतर्फ प्रदेश सरकारले योजना बनाउने बताए । प्रदेश सरकारको एक वर्ष ऐन, कानुन र कार्यविधि बनाउँदै समय बितेको भन्दै अब देखिने गरी काम हुने बताए । अहिलेसम्म किसानलाई दिइँदै आएको अनुदान पहुँचवालाले दुरुपयोग गरेर वास्तविक किसानसम्म नपुगेकै कारण किसानले फाइदा लिन नपाएको बताए ।
उनले अब किसानलाई अनुदान नभई प्रदेश सरकारले सेवा दिने बताए । शीतभण्डार शिलान्यास कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवले किसानको हितका लागि निर्माण गरिने शीतभण्डार शिलान्यासमा मात्रै सीमित नरहोस् भन्दै समयमा सम्पन्न गर्ने गरी ठेकेदार छनोट गरेर निर्माण गर्न सुझाव दिए । उनले कृषिमा बिचौलिया हावी हुँदा वास्तविक किसानले उत्पादन गरेको कृषि उपजले मूल्य पाउन नसकेको भन्दै विचौलियालाई निरुत्साहित बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए । सरकारले कृषिमा दिने अनुदान तथा सहयोग वास्तविक किसानले अहिलेसम्म नपाएको भन्दै उनले व्यापक प्रचारप्रसार र पारदर्शीढंगबाट समावेशी वितरणका लागि आग्रह गरे । वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ताले कृषिमा सरकारले ल्याएको ऐन कानुन कार्यान्वयन हुन नसक्दा कृषिक्षेत्रको विकास हुन नसकेको भन्दै कानुन कार्यान्वयनतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताए । कृषिको विकास नभएसम्म देश समृद्ध नहुने भन्दै सबैभन्दा बढी विदेश पलायन हुने जनशक्ति प्रदेश २ बाट रहेकाले यसलाई रोक्न कृषि क्षेत्रको योगदानलाई वृद्धि गर्नुपर्ने बताए । उनले शीतभण्डार निर्माणले मात्रै नहुने भन्दै त्यसमा राख्ने उत्पादनमा विशेष जोड निलुपर्ने बताए ।

डेढ बिघामा शीतभण्डार हुने
प्रदेश सरकारको ८० प्रतिशत र शिवम् एग्रो इण्डष्ट्रिज प्रालिको २० प्रतिशत लागतमा १ बिघा ११ कठ्ठा जमिनमा २१ करोड ९१ लाखको लागतमा शीतभण्डार निर्माण हुने शिवम् एग्रोका अध्यक्ष शिवजी कलवारले बताए । ५ वटा बहुउद्देश्यीय च्याम्बरको शीतभण्डार निर्माण हुनेछ । त्यसमा एकै पटकमा १६ सय ६० मेट्रिक टन आलु, खाद्यवस्तु २४ सय ५० मेट्रिक टन, तरकारी तथा फलपूmल २ सय मेट्रिक टन, लसुन र प्याज २ सय मेट्रिक टन भण्डारण गर्न सकिनेछ । शीतभण्डार निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि पर्साका किसानका लागि उपयोगी हुने विश्वास गरिएको छ । वीरगन्जमा निर्माण सुरु भएको यो शीतभण्डार अत्याधुनिक हुने बताइएको छ ।
यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल र जडिबुटी भण्डारण गर्न सहज हुने अपेक्षा गरिएको छ । शिवम् एग्रो इण्डष्ट्रिज प्रालिका सञ्चालक शिवजी कलवारले शीतभण्डारण निर्माणको काम बेलैमा सम्पन्न गरिने बताए । शीतभण्डार सञ्चालनमा आएपछि यहाँका किसान लाभान्वित हुने र यसले उनीहरूको आर्थिक क्षमतामा वृद्धि हुने बताए ।

प्रतिक्रिया दिनुहोस्