बारम्बार बत्ती जाने समस्याको समाधान कहिले हुने ? «

बारम्बार बत्ती जाने समस्याको समाधान कहिले हुने ?

नेपाललाई जलस्रोतको दोस्रो धनी देशका रूपमा चिनिन्छ । मोटामोटी रूपमा साना तथा ठूला गरी ६ हजारजति नदीनाला यहाँ अटुट रूपले बग्ने गर्छन् । जलस्रोतका दृष्टिले मात्रै हेर्ने हो भने पनि यहाँ विद्युतीय क्षमता बोकेका नदीहरू धेरै छन् । तर, हाम्रो देशमा स्रोतसाधन, प्रविधि अनि लगानीको कमी हुनाले पनि हाम्रो देश विद्युत्का लागि अरू देशमा निर्भर हुनुपर्ने बाध्यता छ । विगत लामो समयदेखि विद्युत् प्राधिकरणमा प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङको पद बहाली भएपश्चात् विद्युत्को समस्याबाट हामीले मुक्ति नै पाएका छौं । घण्टौंसम्म बत्ती जाने समस्याबाट हामीले मुक्ति पाएका छौं । सम्झँदा सपनाजस्तो पनि लाग्छ कि कुनै समयमा दिनमा १६ घण्टासम्म बत्ती जाने गथ्र्यो । त्यतिबेला घरमा वैकल्पिक बत्तीको जगेडा नगरेमा दिन कटाउन मुस्किल हुने गथ्र्याे । त्यही समयमा मैनबत्ती, टर्च लाइट र घरायसी इन्भर्टरको व्यवसाय पनि निकै फस्टाएको थियो भने कैयांै मानिसले यस्ता व्यवसाय गरी आफ्ना परिवार पालेका थिए ।
दिउँसोको समयमा बत्ती नहुँदा व्यवसाय तथा कल–कारखानाहरूलाई आफ्नो दिनहुँको कार्य गर्न निकै नै अप्ठेरो हुने गथ्र्यो । सामान्य रूपमा ५ रुपैयाँमा गरिने फोटोकपीसमेत लोडसेडिङका कारण १० देखि २० रुपैयाँसम्म पर्ने गथ्र्यो । अझै विद्यार्थीहरूमा यसले परेको असरको त झनै कुरा गरेर साध्य नै छैन । दिनभरि विद्यालयमा पढेर घर फर्किंदा दिनहँुजस्तो बत्ती नहुने, त्यस्तो समयमा कसरी पढ्ने ? कसरी लेख्ने ? त्यसमाथि सबैको पहुँचमा इन्भर्टर र जेनेरेटर हुन्छ भन्ने नै थिएन । विगतका ती दिनहरू सम्झिँदा जीवन अन्धकारमा थियो जस्तो लाग्छ । यस्ता समस्याबाट हामीलाई पार गराउनुभएकोमा हामी सम्पूर्ण नेपालीहरू प्राधिकरणका निर्देशक कुलमानप्रति आभारी छौं । तर, केही महिनाअघिदेखि बारम्बार बत्ती जाने÷आउने समस्याबाट हामी पीडित भएका छौं । मनमा यो त्रास पनि आउने गर्छ कि कतै फेरि लोडसेडिङ त हुन थालेको छैन ?
केही महिनाअघिको मात्र कुरा हो, रामेछापमा विद्युत् प्राधिकरणले लापरवाही गरेको र दिनमा १७ पटकसम्म बत्ती गएको भन्दै त्यहाँका स्थानीय बासिन्दाहरूले धर्नासमेत दिएको खबरहरू विभिन्न सञ्चारमाध्यममा आएको थियो । के प्राधिकरणले लापरवाही गरेकै हो त ? के ट्रान्सफर्मरहरू सबै बिग्रिएकै हुन् त ? चिसो बढ्नुको कारण र ग्यासको मूल्य पनि बारम्बार बढ्नाले अहिले मानिसहरूले राइस कुकर, इन्डक्सन, पानी तताउने रड, जगजस्ता विद्युतीय उपकरणको खपत बढी गर्नाले पनि ट्रान्सफर्मरले लोड धान्न नसकी बारम्बार विद्युत् जाने अनि पड्किने समस्या भइराखेको छ । मेरो घरनजिकै पनि बारम्बार ट्रान्समिटर पड्किने समस्याबाट हामी आजित भइसकेका छौं । कहिलेकाहीं त उक्त ट्रान्समिटरमा आगोसमेत बल्ने गर्छ । चिसोको कारण घरमै पनि हामीले एउटै मल्टिप्लगमा दुई–तीनवटा विद्युतीय सामग्रीका तारहरू जोड्दा झ्याप्प बत्ती जाने गर्छ भने कहिलेकाहीं त प्लग नै जल्नेसमेत गर्छ । त्यसमाथि केही दिनअघि मात्रै कुलमान घिसिङले यसरी झ्याप–झ्याप बत्ती जाने समस्या अब छिटै नै समाधान हुने बताउनुभएको छ । यसै सन्दर्भममा कुलमान घिसिङले भन्नुभएको छ, “विद्युतको खपत बढेका कारण बेला–बेलामा बिजुली जाने र ३८ सय ट्रान्सफर्मरमध्ये ५०–६० वटामा समस्या देखिएको हो, सबैमा समस्या छैन । यसका साथै यस्तो समस्या आउन नदिन पनि प्राधिकरणले काठमाडौं उपत्यकामा १० ठाउँमा सबस्टेसन बनाउँदै छ र भूमिगत विद्युतीय तार बिच्छ्याउने गर्दा पनि केही स्थानमा बत्ती जाने समस्या भएको छ । लोडअनुसार ट्रान्सफर्मर फेर्ने काम भइरहेको छ ।”
उहाँको यस्तो प्रतिवेदन सुनेर हामी धेरै हदसम्म विश्वस्त भएको महसुस पनि गरेका छौँ । तर, हामीले पनि स्वयं सावधानी अपनाउन भने आवश्यक छ । आवश्यकताअनुसार मात्र विद्युत्को प्रयोग गरौँ । अन्य समयमा विद्युतीय स्विचहरू बन्द गर्ने बानी बसालौं ।

प्रतिक्रिया दिनुहोस्