Logo

राष्ट्रिय प्रशारण लाइनसँग अझै जोडिन सकेन बाजुरा

धनगढी-विकासको दृष्टिले सबै भन्दा पछाडि परेको बाजुरा जिल्ला राष्ट्रिय प्रशारण लाइनसँग अझै जोडिएको छैन । नेपाल सरकारले आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रमबाट चार वर्षमा सबै घरधुरीमा विद्युतको पहुँच पु-याइसक्ने लक्ष्य लिएको भएपनि सो अनुसार बाजुरा जिल्लामा विद्युतीकरणको काम अगाडि बढ्न सकेको छैन ।
नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार बाजुरा जिल्लामा १३.४४ प्रतिशत घरधुरीमा मात्रै विद्युतको पहुँच पुगेको छ । अहिलेसम्म बाजुरा जिल्लामा राष्ट्रिय प्रशारण लाईनको सबस्टेशन बनिसकेको छैन । विद्युतीकरण भएको क्षेत्रमा समेत नियमित आपूर्ति हुन नसकेको छैन । दैनिक आठ घण्टा लोडसेडिङ गरेर विद्युत आपूर्ति गरिरहेको प्राधिकरणको प्रादेशिक कार्यालयले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयले दुई नोजको एउटा सब स्टेशन निर्माण भइरहेको जनाएको छ । अहिलेसम्म बाजुरा जिल्लामा स्थानीयस्तरबाट उत्पादित लघुजलविद्युत आयोजनाबाट विद्युत आपूर्ति भइरहेको प्रदेश कार्यालयका लेखा अधिकृत मेघराज गौतमले बताए । उनले स्थानीय जलविद्युत आयोजनाको उत्पादनले माग अनुसार आपूर्ति हुन नसकिरहेकोले प्राधिकरणलाई बाजुरा जिल्लामा विद्युत विस्तार गर्न प्रेसर बढेको बताए । उनले सबस्टेशन निर्माण र ३३ केभिएको विद्युत प्रशारण लाईन निर्माण कार्य तिब्र गतिमा भइरहेको जनाउँदै केही दिनमा सबस्टेशन चार्ज गर्न थालिने बताए ।
यद्दपि, बाजुराको दुई सय किलोवाटको त्रिवेणी जलविद्युत आयोजनालाई विद्युत प्राधिरणले स्थानीय बडिमालिका विद्युत सहकारीलाई पाँच वर्षका लागि लिजमा दिएको हुनाले सो लिज क्यान्सेल नभएसम्म बाजुराको सदरमुकाम मार्तडीमा प्राधिरणले राष्ट्रिय प्रशारणलाई जोड्न नसक्ने लेखा अधिकृत गौतमले बताए ।
सो आयोजनाले विद्युत आपूर्ति धान्न नसक्ने भएकाले सहकारीलाई दिएको लिज खारेज गरेर सो आयोजनाको उत्पादन समेत राष्ट्रिय प्रशारणका जोडेर राष्ट्रिय प्रशारण लाईनबाट विद्युत आपूर्ति गर्नुपर्ने स्थानीय पत्रकार निमेन्द्र शाहीले बताए । उनले विद्युत माग अनुसार आपूर्ति हुन नसकिरहेको अवस्थामा सहकारीले समेत लिज खारेज गर्न सहयोग गर्नुपर्ने बताए ।
बाजुरा जिल्लामा प्राधिकरणले ३३ केभिको ४० किलोमिटर प्रशारण लाईन निर्माण गरिरहेको छ । ११ केभिको ६० किलोमिटर प्रशारण लाईन निर्माण भइसकेको छ भने चालु आर्थिक वर्षमा २१० किलोमिटर लाईन विस्तार गर्ने योजना बनाइएको छ । ९०.३५ किलोमिटर स्थानीय लाईन विस्तार गरिएको र आगामी दिनमा ३९० किलोमिटर स्थानीय प्रशारण लाईन विस्तार गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । बाजुरामा हालसम्म १९ वटा मात्रै ट्रान्सफरमर जडान भएको छ भने १३० वटा ट्रान्सफरमर जडान गर्ने योजना रहेको छ ।
बाजुरा जिल्लाको नौ वटा स्थानीय तह मध्ये चार वटा स्थानीय तहमा मात्रै आंशिक रुपमा विद्युत विस्तार भएको छ । पाँच वटा स्थानीय तहमा विद्युतीकरण शुन्य रहेको प्राधिकरणको प्रादेशिक कार्यालयले जनाएको छ । प्राधिकरणको तत्यांक अनुसार बडिमालिका नगरपालिकामा ८६, छेडेदह गाउँपालिकामा ३.०४, त्रिवेणी नगरपालिकामा ४.९५ र बुढीगंगा नगरपालिकामा २.७७ प्रतिशत घरधुरीमा विद्युतको पहुच पुगेको छ । बाजुरामा २९ हजार ८४ परिवारको बसोबास छ ।

प्रतिक्रिया दिनुहोस्