मजिपा लाखेका विशेषता «

मजिपा लाखेका विशेषता

लाखे भनेको डरलाग्दो अनुहार भएको रातो राक्षसको मुखौटा लगाएको, रातो लामो कपाल भएको, च्यातिएको ठूलो मुखबाट निस्केका दुईवटा दाह्रा भएको, तासको जामा (पछाडिपट्टि षट्कोण लेखिराखेको) र लुगा लगाएको, हातको औंलामा लामा–लामा नङ्ग्रा भएको, कमरमा ठूला–ठूला यंगला र रातो पटुका बाँधेको हुन्छ । उपत्यकामा जति देवीदेवता छन् त्यति नै भूतप्रेत, दैत्य र लाखे पनि छन् भन्ने मान्यता रहिआएको छ । नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म विभिन्न टोलमा लाखे नाच नचाइन्छ । विशेष गरेर मतिगा लाखेलाई यसै समयमा नचाइने मुख्य लाखेको रूपमा लिइन्छ । अन्य साधारण खालका लाखेको नाच पनि विभिन्न टोलमा नचाइने गरिन्छ । विशेष लाखे नाच नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म र इन्द्रजात्राको अवधि आठ दिनसम्म लाखे नाच नचाइने चलन छ ।
इन्द्रजात्राको अवधिमा नचाइने लाखेलाई मजिपा लाखे भनिन्छ । मजिपा लाखेलाई ‘शान्त भैरव’ पनि भनिन्छ । लाखे नाच विशेष गरेर धाः र मुस्याः बाजा बजाएर नचाइन्छ । खिं पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ । नेवारी लोकगीतको धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा दर्शकहरूले रमाइलो मान्छन् । लाखेनाचसँगै झ्यालिंचालाई पनि नचाइन्छ । कागज र प्लास्टिकको मुखौटा लगाएर झ्यालिंचा जोकरजस्तै भएर वेशभूषा पनि त्यस्तै लगाएर लाखेका नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालिंचालाई लखेट्ने गर्छ । मजिपा लाखेको विगत राक्षसी स्वभाव भए तापनि कालान्तरमा आएको परिवर्तनले गर्दा यिनलाई भैरवको एक रूपमा पुजिँदै आएको छ । भैरव शिवकै एक डरलाग्दो रूप हो, जुन सृष्टिको संहारसँग सम्बन्ध राख्छ । भैरवलाई पुज्नुको अर्थ आफूलाई संहारको प्रकियाबाट जोगाउनु र रक्षा गर्नुसँग सम्बन्धित छ । लाखेले साना नानीहरूको रक्षाको दायित्व लिएको हुनाले नेवार समुदायमा लाखेलाई एक शक्तिशाली देवताको रूपमा पनि पुजिने गरिन्छ ।
देशका विभिन्न स्थानमा नचाइने लाखे नाचले आफ्नो समाज, समुदाय र परिवारमा भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर लाखे नाच नचाउने गरिएको पाइन्छ । एक समयमा मजिपा टोलको एक सुन्दर युवती ‘बाँलाः मयजु’ (सुन्दर महिला)मा लाखेको प्रेम बस्न थाल्छ, आफ्नी प्रेमिका भेट्न ऊ मानिसको भेषमा बारम्बार आउन थाल्छ । आफ्नो प्रेमिका लागि जे गर्न पनि तत्पर लाखे एक्लैले एकैछिनमा प्रेमिकाको खेत खनजोत गरी दिन्छ, प्रेमीको हरेक समस्यालाई लाखे क्षणभरमै समाधान गरिदिन्छ । आफ्नो प्रेमीप्रति मोहित लाखेले खेतमा टाँगिएको बुँख्याचालाई साक्षी राखेर बिहे गरेको घोषणा गर्छ र भगाएर १५ दिनसम्म आफ्नै घरमा लगेर पनि राख्छ । यता काम गर्न खेतमा गएकी ‘बाँलाः मयजु’ हराएपछि घरमा खैलाबैला हुन्छ ।
आमा माया र बुबा धनवीरले छोरी हराएकोमा निकै सुर्ता गर्छन् । लाखेसँगको पिरतीमा फसेकी छोरी ‘बाँलाः मयजु’ लाखेको घरमा पुगेकी हुन्छे । पछि स्थानीय बासिन्दाले ‘बाँलाः मयजु’ लुकाएको ठाउँ र छोरी भगाउने लाखेको असली रूप थाहा पाउँछ र समातेर राजा समक्ष बुझाउँछन् । राक्षस मानिने लाखेले छोरी लगेपछि गाउँले बसेर समस्या समाधानको उपाय खोज्छन् । राजाले अन्य राक्षसहरूबाट आफ्नो राज्यमा रहेका बालबालिकालाई बचाउन सहयोग गर्छ भने एक निश्चित ठाउँ दिन आफू तयार भएको प्रस्ताव राख्छ । प्रस्ताव स्वीकार गरेर लाखे काठमाडौंको मजिपाट लाखे ननिमा घरज्वाइँ भएर बस्न थाल्छ । हेर्दैमा डरलाग्दो लाखेले संकटमा परेका स्थानीयलाई उद्धार गर्न थाल्छ र संकटमा परेकाले उनलाई भाकल गर्ने क्रम पनि क्रमशः बढ्दै जान थाल्छ । भयावह रूपभित्र पनि कमलो मन छ, उसमा पनि प्रेमको भावना छ, उसले कसैलाई मन पराउन सक्छ, प्रेममा डुब्न सक्छ भन्ने सन्देश लाखेको कथाले देखाउँछ । आफ्नो प्रेमीका लागि लाखेले आफ्नो राक्षसी स्वभाव पनि त्याग गरी दिन्छ ।

प्रतिक्रिया दिनुहोस्