एकीकृत व्यापार रणनीति पुनरावलोकन गरिँदै «

एकीकृत व्यापार रणनीति पुनरावलोकन गरिँदै

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्नका लागि सुझाव मागेको छ । मन्त्रालयले सूचना जारी गरेर सम्बन्धित संघसंस्था, सरकारी निकाय एवं सरोकारवालालाई माघसम्म सुझाव पेश गर्न भनेको हो ।
सुझाव पठाउँदा नयाँ रणनीतिमा नेपालका निर्यातका सम्भावना भएका के कस्ता वस्तु तथा सेवाहरु समेट्नुपर्छ र त्यस्ता वस्तु वा सेवाको निर्यात प्रवद्र्धन गर्न लिनुपर्ने रणनीति तथा कार्यानीतिका बारेमा ठोस सुझाव उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको छ । स्वदेशी वस्तुको निर्यात वृद्धि गरी मुलुकमा रोजगारी सिर्जना गर्ने लक्ष्य सहित सन् २०१६ मा ५ वर्षको लागि ल्याइएको रणनीतिको समय सकिएपछि यसलाई पुनरावलोकन गर्न लागिएको हो । एनटीआईएस कार्यक्रममा समावेश गरिएका वस्तुलाई थपघट गरी पुनरावलोकन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।
सुझावका क्षेत्रहरुमा उदीयमान मुद्दाहरु संघीयता, अतिकम विकसित मुलुकबाट स्तरोन्नति, आर्थिक शासन, श्रम बजार समावेशीकरण र गरिबका लागि बजार, व्यापार लजिस्टिक्स विकास तथा व्यापार सहजीकरण रहेका छन् । यस्तै गुणस्तरीय पूर्वाधार, मापदण्ड र कार्यान्वयन, व्यापार तथा लगानी सहजीकरणका लागि लगानी रहेका छन् । एनटीआईएस कार्यक्रमभित्र विभिन्न १२ वटा उत्पादन तथा सेवा क्षेत्र रहेका छन् । सरकारले स्वदेशी वस्तुको पहिचान गरेर निर्यात बढाउने लक्ष्यसहित ९ वटा उत्पादन र ३ सेवा क्षेत्रलाई एनटीआईएस कार्यक्रम अन्तर्गत राखेको थियो ।
एनटीआईएस अन्तर्गत अलैंची, अदुवा, चिया, जडिबुटी, फेब्रिक, लेदर, फुटवेयर, पस्मिना र कार्पेट रहेका छन् । सेवा क्षेत्रतर्फ दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि र पर्यटन गरी १२ वटा क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्