Logo

हाइब्रिड बीउ उत्पादनसँगै पाहुना घर निर्माणमा सहकारी


झापाको गौरादह नगरपालिका–५ स्थित नमूना एकीकृत कृषि सहकारीले चाहिँ कृषकका लागि आफैं धानको बीऊ उत्पादन गरिरहेको छ । विदेशबाट आयात हुने विऊको मोल धेरै पर्ने र कतिपय विऊ राम्रो पनि नहुने समस्या भोगिरहेका कृषकका लागि सहकारीले एक हेक्टर क्षेत्रफलमा हाइब्रिड धानको बीउ उत्पादन थालेको हो ।
नमुना एकीकृत सहकारीले राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ÷धनुषाको सहयोगमा धानको हाइब्रिड जात लगाएको छ । धानबाली अनुसन्धान केन्द्रको सहयोगमा पटक–पटक गरेको परिक्षण र प्रयासपछि यस वर्षबाट व्यवसायिक रुपमा खेती थालिएको सहकारीका पदाधिकारीहरु बताउँछन् । नेपालमा समूदाय स्तरमा व्यवसायिकरूपमा नमुना एकीकृत खेतीले पहिलो पटक हाइब्रिड धानको बीउ उत्पादन थालेको हो ।
स्वदेशमै ठूलो परिमाणमा हाइब्रिड बीउ उत्पादन गर्न सके विदेशबाट आयत हुने बीउलाई प्रतिस्थापन गर्न सकिने किसानको भनाइ छ । हाइब्रिड बीउ उत्पादनका लागि खेती गर्दा १० दिन अघि पछि गरेर एक लाइन भाले बीउ रोपिन्छ । यस्तै भाले बीउ भन्दा तेब्बर क्षेत्रमा पोथी बीउ रोपिन्छ ।
सहकारीले हाइब्रिड मकैको बीउ उत्पादनमाको तयारीसमेत गरेको छ । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमको सहयोगमा गत वर्ष २१ हेक्टर क्षेत्रफलमा हाइब्रिड मकैको बीउ लगाएको थियो भने यस वर्ष १० हेक्टरमा लगाउने तयारी गरेको छ । प्राविधिक समस्याको कारण गत वर्ष मकैको हाइब्रिड बीउ उत्पादनमा समस्या भएसँगै यस वर्ष उत्पादन घटाएको हो । आयतमा नै निर्भर रहेको हाइब्रिड बीउ नेपालमा सबैभन्दा धेरै अन्न उत्पादन हुने धान र मकैको झापा जिल्लामा उत्पादन थालिनुले पनि कृषि क्षेत्रले मागरेको फड्कोको प्रतिनिधित्व गर्दछ ।
नेपालमा वार्षिक १० हजार टन हाइब्रिड मकैको बीउ आवश्यक पर्दै आएपनि नेपालको उत्पादन चार टनमात्र रहेका ेबाली अनुसन्धान कार्यक्रम रामपुरको तथ्यांकमा उल्लेख छ । बाँकी बहुराष्ट्रिय कम्पनीका मकैको बीउ नेपाल भित्रिने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले जनाएको छ । देशलाई मकैमा आत्मर्निभर बनाउनका लागि हाइब्रिड मकै उत्पादन नै एक मात्र विकल्प रहेको मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका पूर्व प्रमुख डा. केशवबाबु कोइरालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्