बेलिब्रिज निर्माणकार्य अन्तिम चरणमा «

बेलिब्रिज निर्माणकार्य अन्तिम चरणमा

मेलम्ची बाढीले पूर्ण क्षति गराएको सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु जोड्ने बेलिब्रिज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बाढीले रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालको रूपमा रेहेको बेलिब्रिजको निर्माणकार्य आगामी साताभित्र सकिने भएको हो ।
अर्थ मन्त्रालयको ९० लाख ५३ हजार रुपैयाँ लागतमा तयार गरिएको बेलिब्रिज निर्माणकार्य आगामी सातासम्म सकिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जान्कारी दिए ।
“अबको पाँचदिनमा ब्रिजको निर्माणकार्य सम्पन्न हुनेछ,” उनले भने, “अब गाउँपालिकाको सडक सञ्जाल मजबुत बनाउनुमा बेलिब्रिजले महत्व राख्दछ, भने पर्यटकको आवतजावतमा समेत वृद्धि हुने अनुमान गरेको छु ।” बाढीपछि हेलम्बु पुरानै अवस्थामा फर्कन नसके पनि सडक सञ्जाल जोड्दै पर्यटकलाई सहज बनाउने काममा सुरुदेखि नै लागिपरेको उनको भनाइ छ ।
बेलिब्रिज पुनर्निर्माणमा नेपाली सेनाका प्रविधिकसहितको टोली खटिएको थियो । पुलको निर्माणकार्य एक महिनाभित्र सम्पन्न गर्ने योजनाअनुरुप सेनाद्वारा रातारात काम गरिएको थियो । एक महिनामा सकाउने योजना भए तापनि काममा केही कठिनाइ भएकाले अलि दिन ढिला भएको सेनाका प्राविधिक भीमसेन थापाले बताए । “पुलको बनावट अहिले निकै सरल अनि मजबुद देखिन्छ,” उनी भन्छन्, “पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको ६ वटा वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको २ वटा वडा र मेलम्ची नगरपालिकाको २ वटा वडा सडक सम्पर्कबाट टुटेको थियो ।” अबको केही दिनमानै यातायात आवातजावतमा सकस भएका सडकको सम्पर्क पुनः सहज ढंगले जोडिने थापाले बताए ।
पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केध्याङ, सेर्माथाङ, पाल्चोक, नाकोतेलगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्