माटो बेचेरै समृद्धि

छालाको भित्री भागमा रौंको फेदमा हुने क्याभिटीमा प्रोपिओनीब्याक्टेरियम एसिन नामक ब्याक्टेरिया आरामले बस्न सक्छ ।
हाम्रो शरीरको पैताला र पन्जाबाहेकका छालामा रौं हुन्छन् । छालामा रौंको फेद हुँदै खुलेका र सीधै बाहिर खुलेका छिद्रहरूको भित्री भागमा सेबम ग्रन्थि हुन्छन् । सबैभन्दा धेरै सेबम ग्रन्थि हाम्रो अनुहारमा हुन्छ । त्यो ग्रन्थिले चाहिनेभन्दा धेरै तेल बनाउँदा सेबममा ट्राइग्लेसिराइड तथा फ्याट्टी एसिडको मात्रा बढ्छ र यसले छालाको पसिना, मृत कोषिका र वातावरणबाट छालामा सम्पर्कमा आएको धूलोलाई अँठ्याएर राखी छालाको प्वाललाई बन्द गरिदिन सक्छ ।
छालाको भित्री भागमा रौंको फेदमा हुने क्याभिटीमा प्रोपिओनीब्याक्टेरियम एसिन नामक ब्याक्टेरिया आरामले बस्न सक्छ । उक्त ब्याक्टेरियाको संक्रमण हुँदा यसले त्यहाँ उपलब्ध सेबमलाई उसको पौष्टिक आहारका रूपमा खाने र फोहरका रूपमा फ्याट्टी एसिड छालाको प्वालमार्फत बाहिर फाल्ने गर्छ । सामान्यतः बिहान–बिहान मुख धुँदा ती फोहर पखालिने भए पनि उक्त प्वाल बन्द हुँदा छालाको रङ दिने पिगमेन्ट मेलामिन, सेबम र ब्याक्टेरियाका कारण छालामा पिड्का निस्कन्छ । फोहरका रूपमा जम्मा भएको फ्याट्टी एसिडका कारण इन्फ्लामेसनका कारण दुख्ने, चिर्चिराउने र रातो धब्बा देखिने, इन्फेक्सन हुँदा पाक्ने र फुट्ने हुन्छ । कहिलेकाहीँ त पुटुस्स छाला उछिट्टिएर टुटुल्कोसमेत देखिन्छ ।
मानिसको यौन गतिविधिको कारक डाइहाइड्रो टेस्टटोरोन हार्मोनसँग सेबमको चिल्लोको उत्पादनको सम्बन्ध भेटिएको छ । यौवनावस्थामा टेक्दै गर्दा डाइहाइड्रो टेस्टटोरोन हार्मोनका गतिविधि बढ्न गई सेबमको चिल्लो अत्यधिक पैदा हुने भए तापनि चिल्लोचाप्लो खाना र यौन गतिविधि आदिसँग डन्डिफोरको सम्बन्ध रहेको हालसम्म प्रमाणित हुन सकेको छैन । समग्रमा छाला स्वस्थ राख्ने उत्तम उपाय भनेको छालाको नियमित सफाइ नै हो ।
उसो त छालाको स्याहारसुसारका लागि शताब्दियौंदेखि हिलो र माटोको प्रयोग भएको देखिन्छ । १५ असारमा रोपाइँमा हिलो छ्यापी खेल्दा होस् वा मास्कका रूपमा लगाएर छालाको हेरचाह हुने गरेकै हो । हाम्रा पुर्खाका पालामा छालाका लागि उपयुक्त रंगको माटोमा आवश्यकताअनुसार दूध, दही, नौनी, घिउकुमारी, तुलसी, गुलाफजल, बेसार, चन्दन, चनाको पीठो, केशर, खरानी, पीना, निम, अमला, नरिवल आदि मिसाएर फेस मास्क, क्लिन्जर र साबुन आदि बनाइने गरेका थिए ।
प्राचीन लिखतले सुझाएअनुसार पनि सफा र नरम अनुहारको छालामा लयालो सफा माटो दल्दा छालाको समस्या हट्छ । माटोको भाँडा बनाउने कालीमाटी प्राकृतिक रूपमै छालालाई मिनरल र थुप्रै सूक्ष्म तत्व दिने स्रोत मात्र हैन, अनुहारलाई सफा र डिटक्स गर्ने, छालामा भएका छ्याके कम गराउने र छालालाई छिट्टै चाउरिन रोक्ने फेसियल पनि हो । कालिमाटीमा हुने मिनिरल्स र तिनका अक्साइडले छालाको चिल्लो, फोहर पदार्थ र जहर सोस्ने शक्तिका कारण ब्युटी र हेल्दी क्लेका रूपमा तेल, मास्क, लोसन, मेकअप र क्लिनजिङ थेरापीमा प्रयोग हुने बलवान् माटो मानिएको छ ।
कालीमाटीजस्तै लाग्ने तर हरियो–हरियो देखिने ‘हरियो माटो’ सिलिको–आलुमिनोको अक्सिडेसनबाट बनेको हुन्छ । अक्सिडेसनका कारण यो माटोले वातावरणबाट मिनरलहरू सोसेर लिने भएकाले हरियो हुने गर्छ । धेरै मिनरल र सूक्ष्म तत्व भएको यो माटो अनुहारलाई सफा र डिटक्स गर्ने, छालामा भएका छ्याकछ्याके कम गराउने र छाला छिट्टै चाउरिनबाट रोक्ने खुबी भएको फेसियलको पावर हाउस नै हो । न्युट्रल पीएचमा अनुहारमा दलिने हरियो माटोलाई अनुहारको फोहोर सोस्ने पहलवान माटो मानिएको छ ।
गेरु अर्थात् रातो माटो अनुहार सफा गर्ने संसारकै उत्कृष्ट फेसियल क्लिनजर हो । यसलाई पृथ्वीमा पाइने माटोमध्ये सबैभन्दा शुद्ध माटो मानिएको छ । छालाको प्वालमा जमेका विषालु र फोहर पदार्थ निकाली राम्ररी सफा गर्ने क्षमता छ यसमा । छाला चाउरिएर वृद्धजस्तो नलागोस् भनी फेसियलका रूपमा मात्र हैन, धेरैजसो फेसक्रिमको बेस बनाउन यसकै उपयोग हुन्छ । त्यसैले सौन्दर्य प्रसाधनको क्षेत्रमा रातो माटोको माग अत्यधिक छ ।
कमेरो फेसियल क्लिनजरमा प्रयोग हुने माटोमध्ये सबैभन्दा सौम्य र सबै प्रकारको छालामा निर्धक्क दल्न सकिने माटो हो । कालीमाटीमा हुने गुण यो माटोमा पनि पाइन्छन् । साथै यसले अनुहारका काला र सेता धब्बा हटाई छालालाई नरम बनाउन सघाउँछ । यो धेरैजसो फेसियल क्रिमको बेस त हो नै, औद्योगिक रूपमा कमेरोकागज, रबर, सेरामिक र साबुनको बेस पनि हो ।
नरिवल, ताडी, सुपारी आदि जलाएर बनेको खरानीबाट छुट्याएर बनाइएको एक्टिभेटेड चारकोल वाकोइलापिनी माटोजस्तै बनाइएको पाउडरले छालाको प्वालमा जमेको फोहर र तेललाई निकै शक्तिशाली तवरबाट सोस्न सक्छ । यसलाई छालाको प्वाललाई निकै भित्रसम्म सफा गर्न सक्ने फेस क्लिन्जर र जमेको फोहर हटाउन सक्ने हालसम्मकै शक्तिशाली डिटक्सिफायर मानिन्छ ।
समग्रमा, सामान्य रूपमा भन्दा, माटो मिनरल र मिनरल अक्साइडको मिश्रण हो । मिनरल र मिनरल अक्साइडको छालाको भित्री सतहसम्म जमेको फोहर सोस्ने र सफा गर्ने खुबीका कारण नै माटो कस्मेटिक प्रयोजनमा आएको हो । मिनरल र मिनरल अक्साइडहरूको मिश्रणलाई मसिनेरी पिसेर पानी हाल्दा लयालो माटो बन्ने हदको धूलो बनेपछि त्यो कस्मेटिक ग्रेडको माटो बन्ने गर्छ । यस्तो गुण नेपालका माटोमा समेत पर्याप्त छ ।
एक अनुसन्धानले भक्तपुर, कमेरोटारको कमेरोमा केमिकल कम्पोजिसन हेर्दा सिलिका (६६.५ प्रतिशत), अलुमिना (१४.४२ प्रतिशत), आइरन अक्साइड (३.८६ प्रतिशत), मेग्निसियम अक्साइड (२.०१ प्रतिशत), पोटासियम अक्साइड (२.१६ प्रतिशत), सोडियम अक्साइड (०.९० प्रतिशत), क्याल्सियम अक्साइड (०.५६ प्रतिशत), पानी (७.८३ प्रतिशत) र अन्य (१.७६ प्रतिशत) देखाएको थियो । यो कस्मेटिक ग्रेडको माटोका रूपमा सिधै उपयोग हुन सक्ने उत्साहवद्र्धक खबर हो ।
आज परलाइट, हेक्टोराइट, बेन्टोनाइट, कवाटर नाइज, क्योलिन, फ्रेन्च ग्रीन क्ले, रसौलक्ले, मुलतानी मिट्टीजस्ता माटाहरू संसारकै बजारमा अति चाखलाग्दो मूल्यमा बिक्री भइरहेछन् । फ्रान्सको आर्जिलेजको रेड क्ले फेस मास्क, इटालीको बोर्जिज फंगो मड मास्क, जर्मन स्वासन अल्ट्रा बभेरियान माउन्टेन मड मास्क, अस्ट्रियाको मुर फेसियल, भारतका हेस मुलतानी, पतञ्जली मुलतानी आदि हजारौं माटोका व्यवसाय अस्तित्वमा छन् ।
संसारमा धेरैजसो सौन्दर्य प्रसाधन कस्मेटिक ग्रेडका कच्चा पदार्थ प्रयोग गरी बनेका छन् । युरोप, अमेरिकाका ब्रान्डेड सामान भनेपछि हामी आँखा चिम्लेर उपयोग गर्छौं । विदेशी माल गुणस्तरीय भइहाल्छ भन्ने भ्रममा हुन्छौं प्राय हामी । संसारभरिका कुनै पनि नियम–कानुनको परिधिको मापदण्डभित्र नपर्ने, के–कति सुरक्षित छ भनी कुनै परीक्षण नगरिएको, हालिएको कच्चा पदार्थको जोखिमको पुनरावलोकन समेत नगरिएका कस्मेटिक प्रडक्टलाई संसारमा कस्मेटिक ग्रेड नामकरण दिइएको छ । कस्मेटिक ग्रेडभन्दा पनि कमसल ग्रेडलाई टेक्निकल ग्रेड भन्ने गरिन्छ ।
ठेट नेपालीमा भन्दा कस्मेटिक ग्रेडको अर्थ हो, जे पायो, त्यही पदार्थ प्रयोग गरी बनेको । नामकरण नै जे पायो, त्यही पदार्थ प्रयोग गरी बनेको भनिसकेपछि नियन्त्रण र निगरानी प्रक्रिया अप्ठ्यारो छ । त्यसैले अमेरिकी सरकारी अनुगमन निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले ३० प्रतिशतसम्म ब्याक्टेरिया भेटिँदा बजारमा जान अनुमति दिने नीति लिएको छ ।
जब कि फर्मास्युटिकल ग्रेडका प्रडक्टमा बजारमा जाने अनुमतिका लागि ०.१ प्रतिशतभन्दा कम ब्याक्टेरिया रहनु अनिवार्य हुन्छ । आज संसारमा रहेका ५ प्रतिशतभन्दा कम कस्मेटिक उद्योगका उत्पादन मात्रै फर्मास्युटिकल ग्रेड पूरा गरेका भेटिन्छन् । एफडीएले कस्मेटिक ग्रेड प्रडक्ट अनुमान गरिएभन्दा पनि निकै कमसल हुन सक्ने भएकाले बनेको ६० देखि ९० दिनभित्रै फाल्न सल्लाह दिएको छ । हाल म्याद नाघेका त्यस्ता कस्मेटिकको वैकल्पिक बजार एसिया र अन्य गरिब मुलुक बनेको अनुमान छ ।
अव्यवस्थित बसोबास, पुख्र्यौली सीप र प्रविधिको उपहास, कमजोर धरातलका विषयमा उद्यमशीलता विकास गर्न चाहने लंगडो सोखले हामी आफ्नै माटोलाई दिन–प्रतिदिन प्रदूषित गरिरहेका छौं भने तिनै माटो हामीलाई बेचेर धनी हुने धेरै मुलुक छन् । हाम्रा खुरिखन्डे भिराला कोल्टा पाखापखेराका रातो माटो, कमेरो वा धापमा हुने कालीमाटी वा हरियो माटी, घसेटा जलेर बनेका चारकोल त्यत्तिकै मिल्किएका छन् । यसबाट फाइदा लिनेबारे त हामीले सोचेका समेत छैनौं । आफ्नो बलियो धरातलको पहिचानमा हाम्रो कुनै चासो पनि भेटिँदैन ।
सात समुद्रपारिबाट केमिकल र प्रिजर्भेटिभ अनि एडिटिभ हालेकै भरमा कस्मेटिक भित्रिएका छन् । हामी विदेशी कस्मेटिक भेटेकैमा दंग छौं । भनिन्छ, जहाँ सन्तुष्टि, त्यहीँ हुन्छ समृद्धि । तर सन्तुष्टि क्षणिक भएर हो कि हामीलाई समृद्धिको स्वाद चाख्ने मौकै मिलेन । हाम्रा प्रधानमन्त्री, मन्त्री र देश विकासका लागि विषयविज्ञको टाइटलको स्वामित्व र समृद्धिको ठेक्का लिएर उच्च पदासीन महामहिमहरू मुलुकको समृद्धिका लागि छट्पट गर्दै अचूक उपाय खोज्न सधै विश्व भ्रमणमा भेटिन्छन् । मुसाकी छोरी मुसैलाई भन्ने हेक्का भएको दिन चाहिँ समृद्धि हामीबाट टाढा छैन, हामी आफै आफ्नै लहड र सनकले टाढिएका मात्र हौं ।
(लेखक क्यानेडियन खाद्य वैज्ञानिक र फर्मास्युटिकल ऐनालिस्ट हुन् ।)
नारायण घिमिरे