बेमौसमी वर्षाको असर धान उत्पादनमा «

बेमौसमी वर्षाको असर धान उत्पादनमा

यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत असोज र कात्तिकमा परेको बेमौसमी वर्षाका कारण धान उत्पादन घटेको हो ।
कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार यस वर्ष १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ भएकोमा उत्पादन ५१ लाख ३० हजार टन भएको छ । गत आवमा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष ४ लाख ९१ हजार ८५ टन कम धान उत्पादन भएको छ ।
अघिल्लो वर्ष १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ भएको थियो । यो वर्ष समयमै मनसुन सक्रिय भएपछि गत वर्षको तुलनामा ३ हजार ९ सय ४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो । तर, गत असोज ३१ र कात्तिक १-२ मा परेको बेमौसमी वर्षाले बाली सखाप पारेको थियो । त्यसको प्रत्यक्ष असर उत्पादनमा देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बेमौसमी वर्षाले मुलुकभरका १ लाख ११ हजार ६ सय ९ हेक्टरमा लगाइएको ४ लाख २४ हजार १ सय १३ टन धान बालीमा क्षति पु-याएको थियो ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बेमौसमी वर्षाले राष्ट्रिय धान उत्पादनमा कमी आएको जानकारी दिए । वर्षाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तुमा धान थन्क्याउने बेला ठूलो क्षति गरेको थियो । विगत ५ वर्षमा भएका उत्पादनसँग तुलना गर्दा आव २०७४-०७५ बाहेक अन्य वर्षभन्दा यस वर्षको उत्पादन न्यून रहेको उनले बताए । गत आर्थिक वर्षको तुलनामा धान बाली लगाइएको क्षेत्रफल करिब ४ हजार हेक्टर बढी थियो । यो वर्ष उत्पादकत्वमा भने ८.६१ प्रतिशतले कमी आएको छ । मन्त्रालयका अनुसार धान उत्पादन सबैभन्दा बढी सुदूरपश्चिममा घटेको छ । तथ्यांकअनुसार यस वर्ष उक्त प्रदेशमा ४ लाख ४१ हजार ९ सय १३ टनमात्र उत्पादन भयो । यो गत वर्षको तुलनामा ३१.४९ प्रतिशत कम हो । २०७७-०७८ मा सुदूरपश्चिममा ६ लाख ४४ हजार ९ सय ५१ टन उत्पादन भएको थियो ।
लुम्बिनी प्रदेशमा पनि धान उत्पादन घटेको छ । मन्त्रालयको विवरणअनुसार लुम्बिनीमा ९ लाख ९९ हजार ३ सय ९९ टनमात्रै धान उत्पादन भयो । यो परिमाण गत वर्षको तुलनामा १८.३८ प्रतिशत कम हो । कर्णालीमा पनि ८.७६ प्रतिशत घटेर १ लाख २५ हजार १ सय ४६ टनमा झरेको छ ।
धान उत्पादन हुने मुख्य पकेट क्षेत्र प्रदेश २ मा उत्पादन ३.२४ प्रतिशत घटेर १३ लाख ८६ हजार ३ सय २८ टन भएको छ । प्रदेश १ मा ०.९३ प्रतिशत घटेर १२ लाख ६३ हजार ७ सय १४ टन र बागमतीमा ०.३५ प्रतिशत घटेर ५ लाख ९ हजार ५ सय ९० टन भएको छ । गण्डकीमा भने धान उत्पादन २.३३ प्रतिशत बढेर ४ लाख ६ हजार ३ सय ३६ टन पुगेको छ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २५ प्रतिशत रहेको कृषि मन्त्रालयको भनाइ छ । कृषि जीडीपीमा धान र परालको योगदान १५ प्रतिशत छ । पाँच लाख टन धान उत्पादन कम हुँदा यो वर्ष चामल आयात बढ्ने अनुमान गरिएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा वर्षेनी ठूलो परिणाममा चामल आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्