Logo

हिमपातले जुम्लामा सयौं भेडा मरे

जुम्ला-कर्णालीमा दशककै भारी हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । विगतका वर्षमा माघ दोस्रो साताबाट कर्णालीमा तातो हुन्थ्यो । निरन्तरको हिमपातले यस वर्ष अहिलेसम्म पनि अत्यधिक चिसो छ । दोस्रो पटकको हिमपातले चिसो बढेपछि जुम्लामा सयौ भेडाबाख्रा मरेका छन् । अघिल्लो पटकको हिमपातले पातारासीमा झण्डै एक सय भेडाबाख्रा मरेका थिए भने पछिल्लो पटकको हिमपातले सिंजा क्षेत्रमा पनि सयौं भेडाबाख्रा पाटनमै मरेका छन् ।
सिंजा गाउँपालिकाको पाटनमा सयौ सयौ भेडा बाख्रा मरेपछि किसान मर्कामा परेका छन् । निरन्तरको हिमपातले हिउँमा कठ्यांग्रिरिएर सिँजा गाउपालिका–२ का गोविचन्द्र तिरूवाका ५१ वटा भेडा मरेका हुन् । भेडाबाख्रा पालेर छोराछोरीको पढाइ खर्र्च जुटाइरहेका उनलाई रोजीरोटी खोसियो, अब कसरी घरपरिवारको लालनपालन गर्ने भन्ने तिरुवाले दुःखसो पोखेका छन् ।
घोडिंगा पशु ब्यावसायिक, हिमाली भेडापालन ब्यावसायिक आयोजनाको सहयोगमा तिरूवाले भेडा पालन व्यवसाय गर्र्दैै आएका थिए । जम्मा १३५ भडामध्ये अत्यधिक हिमपातका कारणले ५१ भेडा मरेको व्यवसायी तिरूवाले बताए । संस्थाबाट जीविकोपार्जनका लागि दिएको व्यवसायलाई पनि प्राकृतिक विपत्तिले साथ नदिएको उनको भनाइ छ ।
दशकौं पछिको हिमपातले आफ्नो रोजिरोटी खोसिएको छ । उनले भने, “एक्कासि भेडा मरेपछि एक छाक टार्न समस्या हुने स्थिति सिर्जना भयो,” उनले थपे, “अब मरेका भेडा गाउँ ल्याउनसमेत हप्तौं लाग्ने भयो ।” ल्याएर पनि के गर्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।
जुम्लाका उच्च भागमा पाँच फिट हिउँ जमेको छ । मरेका ५१ मध्ये १० वटाको मात्र बिमा गरेको उनले जानकारी दिए । लेकमा राखेका भेडा चिसो सहन नसकेर एकपछि अर्को गर्दै मरेको पशु विज्ञले बताएका छन् । चालू आवमा सिञ्जामा चिसोले पशुचौपायामा भएको क्षतिका कारण कम्तीमा ५० लाख जतिको क्षति भएको पशुविज्ञ मित्रलाल धितालले बताए । उनका अनुसार चिसोमा बेसी झार्नुपर्ने हो, ध्यान नदिएका कारण लाखौको क्षति भएको उल्लेख गरे । चिसोकै कारण कर्णालीको जनजीवन निकै कष्टकर बनेको छ । चिसोले पशुचौपायामा भएको क्षतिले गर्दा सिंजा क्षेत्रका किसान निकै चिन्तामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्