Logo

उवा संघले व्यवसायीको तथ्यांक संकलन गर्ने

लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईले बेसीशहर अन्तर्गतका व्यवसायीको तथ्यांक संकलन गर्ने भएको छ । व्यावसायिक प्रवद्र्धनका लागि सम्पूर्ण व्यवसायीको तथ्यांक संकलन गर्न लागेको हो ।
इकाईले आफ्नो कार्यक्षेत्र अन्तर्गत सञ्चालित सम्पूर्ण व्यवसाय तथा व्यवासयीहरुको पेशागत प्रवद्र्धनका लागि विधागत वर्गिकरणका लागि तथ्यांक संकलन गर्न लागेको लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईका सचिव रविन श्रेष्ठले बताए । श्रेष्ठकाअनुसार तथ्यांक संकलनपश्चात व्यापार व्यवसाय गर्नेहरुका व्यावसायिक समस्या पहिचान गरी समस्या समाधानका लागि सहज हुने छ ।
तथ्यांक संकलनका क्रममा व्यपार व्यवसाय सञ्चालन हुँदै आएपनि उद्योग वाणिज्य संघ, घरेलु तथा स्थानीय तहहरुमा व्यवसाय दर्ता भएनभएको, प्यान, भ्याटलगायतका विषयमा जानकारी लिइने इकाईले जनाएको छ । दर्ता नभएका व्यवसायीलाई दर्ता प्रक्रियामा सहजिकरण गर्ने तथा दर्ता भएका व्यवसायीलाई पनि भइपरी आएका कानुनी जटिलताका विषयमा आवश्यक समन्वय गरिने सचिव श्रेष्ठको भनाइ छ ।
इकाईले व्यावसायिक हकहित तथा प्रवद्र्धनसँगै सबै व्यवसायीको रक्त समूह, रक्तचाप, अन्य दीर्घ रोगलगायतको जानकारी लिने र स्वास्थ्य उपचारका लागि आवश्यक समन्वय गर्ने इकाईले जनाएको छ । सोबाहेक व्यवसायी लक्षित स्वास्थ्य शिविरका कार्यक्रम ल्याउने पनि इकाईको तयारी छ ।
तथ्यांक संकलन पश्चात व्यवसायीको पेशागत क्षमता अभिवृद्धिका लागि विधागत तालिम सञ्चालन गर्ने इकाईको योजना छ । सबै व्यवसायीको तथ्यांक संकलन गरीसकेपछि प्राप्त नतिजाको आधारमा बृहत योजना बनाई कार्यक्रम कार्यान्वयन गरिने इकाई अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
तथ्याक संकलनका लागि केही दिनभित्रै व्यवसायीको भेला आयोजना गर्ने र थप सुझावको आधारमा अघि बढिने इकाईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्