चिसो बढेसँगै मनाङमा जनजीवन कष्टकर

लमजुङ-चिसो बढेसँगै हिमालपारिको जिल्ला मनाङमा हिमपात भएको छ । मंगलबारदेखि नै सुरु भएको हिमवर्षाले जनजीवन पनि कष्टकर हुँदै गएको छ ।
मनाङको ङिस्याङ, नार्फाभूमिलगायत सदरमुकाम चामेसहित नासोङ गाउँपालिकाको धारापानीसम्मको क्षेत्रमा हिमपात भएको हो । मनाङको तल्लो भेगमा पर्ने दानाक्यु क्षेत्रमाथि मंगलबार बेलुकादेखि हिउँ परिहेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र अचार्याले जानकारी दिए ।
प्रजिअ आचार्यका अनुसार चामे गाउँपालिकाको तिमाङ, नासोङ गाउँपालिकाको धारापानीभन्दा माथि दानाक्यु भन्ने स्थानसम्म हिउँ परेको छ । अत्यधिक चिसो र निरन्तर हिमपातका कारण मनाङको यातायात पनि प्रभावित भएको मनाङ प्रशासनले जनाएको छ । मंगलबारबाट हिउँ परिहेको र हिउँकै कारण सवारी आवागमन रोकिएको प्रजिअ आचार्यले बताए । उनका अनुसार हिजोसम्म सवारी साधान चले पनि बुधबार बिहानैबाट यातायात बन्द भएको हो । नासोङ गाउँपालिकाको धारापानीबाट माथि सवारी जानसक्ने अवस्था नभएको मनाङ प्रशासनले जनाएको छ ।
प्रजिअ आचार्यका अनुसार मनाङ सदरमुकाम चामेको तापक्रम बुधबार दिउँसोको समयमै माइनस दुई डिग्री सेन्ट्रिग्रेडसम्म पुगेको छ । अत्यधिक चिसो र निरन्तर हिमपातका कारण मनाङको जनजीवन पनि प्रभावित भएको मनाङ प्रशासनले जनाएको छ । चिसो बढेसँगै मनाङका कार्यालयमा सेवाग्राहीको चाप घटेको छ । अत्यधिक चिसोका कारण मनाङका सामुदायिक विद्यालय पनि बन्द भइसकेका छन् । अत्यधिक चिसोका कारण मनाङमा निकै जाडो बढेको छ । जाडोका कारण मनाङमा रहेका नागरिक पनि घर बाहिर निस्कन सकेका छैनन् ।
अत्यधिक चिसोका कारण मनाङका खोला, ताल, पोखरी पनि जम्न थालेपछि पिउने पानीको समेत समस्या हुन थालेको स्थानीयले बताएका छन् । चिसोका कारण मनाङमा ताल, बगिरहेका खोला, झरना तथा पाइपको पानीसमेत जमेको छ । धारा तथा पाइपमा समेत पानी जमेपछि मनाङको जनजीवन कष्टकर बनेको छ ।
उच्च हिमाली क्षेत्रमा हिउँ र तल्लो क्षेत्रमा पानी परेसँगै चिसो बढ्दै गएको हो । चिसोका कारण सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् ।