९१ ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा «

९१ ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा


नेपाल राष्ट्र बैंकले ९१ जना ऋणीलाई पौने १२ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भइरहेका बेला राष्ट्र बैकले २९ बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जाका लागि आएको आवेदन स्वीकृत गरेको हो ।
राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको तथ्यांकअनुसार मंसिर मसान्तसम्ममा १५ जना ऋणीलाई दुई अर्ब ४५ करोड ७८ लाख विशेष पुनर्कर्जा र ७६ ऋणीलाई नौ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ साधारण पुनर्कर्जा स्वीकृत गरिएको छ ।
विशेष पुनर्कर्जाका लागि १० र साधारण पुनर्कर्जाका लागि २७ वटा बैंक तथा वित्तीय संस्थाबाट आएको आवेदन स्वीकृत गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार, क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन क्षेत्रका लागि करिब ५२ प्रतिशत पुनर्कर्जा प्रदान गरिएको छ । होटल, रेस्टुराँलगायतका उद्योगका लागि ६ अर्ब १५ करोड पुनर्कर्जा प्रदान गरिएको छ ।
यस्तै जलविद्युतका लागि २० प्रतिशत उत्पादनमूलक उद्योगका लागि साढे १६ प्रतिशत र शिक्षाका लागि ७ प्रतिशत कर्जा वितरण गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
पुनर्कर्जामध्ये बागमती प्रदेशमा ४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०.३८ प्रतिशत वितरण भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत साता पुस महिनाभर ९२ अर्ब पुनर्कर्जा स्वीकृत गर्ने जानकारी दिएका थिए ।
कोभिड—१९ बाट प्रभावित उत्पादनमूलक उद्योगका लागि राष्ट्र बैंकले पुनर्कर्जा दिएको हो । पुनर्कर्जाको व्याजदर साधारणको पाँच प्रतिशत र विशेषको तीन प्रतिशत रहेको छ ।
पुनर्कर्जा कार्यविधि कोभिड–१९ का कारण अतिप्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित भएका लघु तथा मध्यम उद्यमी व्यवसायीले १५ लाख रुपैयाँसम्मका कर्जा पाउँनेछन् । त्यस्तै वैदेशिक रोजगारीबाट फर्केका उद्यमी, कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जा, कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण, उत्पादनमूलक क्षेत्रका साथै लघु, घरेलु तथा साना उद्यमीले यो कर्जा पाउँनेछन् ।
त्यस्तै विशेष पुनर्कर्जाका लागि सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसाय न्यून आय भएका महिला, आदिवासी, जनजाति, मधेसी, दलित, फरक ढंगबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसाय, रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रका उद्योगहरूले पाउने व्यवस्था छ ।
साधारण पुनर्कर्जा जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजनिक यातायात, औषधि उद्योग, डायग्नोस्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहोरमैला प्रशोधनसँग सम्बन्धित उद्योगले पाउँनेछन् ।
त्यस्तै पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रूपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भीमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषाधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तडलगायतका क्षेत्रमा पर्यटकीय पूर्वाधार स्थापनाका लागि गरिएका लगानीका लागि पनि साधारण पुनर्कर्जा दिइने प्रावधान तोकिएको छ ।
कार्यविधिमा व्यक्तिगत प्रयोजनका लागि दिइने कर्जा, ओभरड्राफ्ट कर्जा, घरजग्गा कर्जा, सवारीकर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइने कर्जाको हकमा भने पुनर्कर्जाका लागि अयोग्य हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्