Logo

प्रयोगविहीन बन्दै आकाशे पुल

नयाँ बानेश्वर संसद् भवनको गेटको अगाडिपट्टिको पीपलको चौतारासँगै सटाएर आकाशे पुल बनेको छ । पैदल यात्रीहरू निकै हतार–हतारमा यताउता गरिरहेका छन् । सबै जना आ–आफ्ना कार्यमा व्यस्त छन् । कोहीसँग कसैलाई बोल्ने फुर्सद छैन । विभिन्न पेसा, व्यवसायसँग सम्बन्धित मानिसहरूको बिहानदेखि नै चहलफहल सुरु भइसक्छ । यो क्रम साँझ नपरेसम्म यत्तिकै चलिरहन्छ ।
निकै व्यस्त रहने बानेश्वर चोकमा पैदल यात्रीलाई सडक वारपार गर्न सहज, सुरक्षित र सरल बनाउन आकाशे पुल बनेको वर्षौं भइसकेको छ । तर, त्यो आकाशे पुलको उपयोग गर्ने पैदल यात्री भने कमै मात्रामा देखिन्छन् । सडक वारपार गर्न सहज र सुरक्षित हुने हुनाले सरकारले लाखौं÷करोडौं खर्चेर आकाशे पुलको निर्माण गरेको हुन्छ ।
केही चेतनशील व्यक्तिहरूले बाहेक त्यस पुलको प्रयोग सायदै गरेको देखिँदैन । प्रयोग गर्नेमा पनि पाका उमेर समूहका मानिसहरू देखिन्छन् । जो सडकमा सवारी चापको अवस्था देख्दा जबर्जस्ती वारपार गर्न असहज महसुस गर्छन्, तीबाहेक अधिकांश स्कुल÷कलेज पढ्ने उमेर समूहका पैदल यात्रीले भने आकाशे पुलमुनिकै व्यस्त सडक जबर्जस्ती रूपमा सवारी साधनलाई रोक्न निर्देशन दिई वारपार गरिरहेको देखिन्छ । पढेलेखेका युवायुवतीले नै आकाशे पुल चढ्न जाँगर चलाउँदैनन् । माथि आकाशे पुल पैदल यात्रीलाई कुरेर बसेको छ । तर, सबैले पुलमुनिकै बाटो प्रयोग गरिरहेको देख्न सकिन्छ ।
बानेश्वरको आकाशे पुल त एउटा उदाहरण मात्र हो । सहरका अधिकांश आकाशे पुलको अवस्था यस्तै छ । प्रयोग प्रायः शून्यजस्तै देखिन्छ । काठमाडौं उपत्यकाभित्र प्रमुख–प्रमुख चोकहरूमा पैदल यात्रीको सहजतानिम्ति यस्ता आकाशे पुलहरू बनेका छन् । तर प्रयोग भने बानेश्वर चोककोजस्तै छ । रिङरोडभित्रका बानेश्वर, चाबहिल, माइतीघर, भद्रकाली, सुन्धारा, न्युरोड, असन, जमल, रत्नपार्कलगायत स्थानका आकाशे पुलको पूर्ण रूपमा प्रयोग भएको देखिँदैन । योसँगै रिङरोडमा पनि आकाशे पुलहरू रहेका छन् । ती पुल भने केही हदसम्ममा प्रयोग भएको देख्न सकिन्छ । मोसफलका सहरहरूमा पनि आकाशे पुलहरू छन्, तर तिनका प्रयोग पनि राजधानीको जस्तै छ । बाध्यात्मक अवस्थामा बाहेक आकाशे पुलको प्रयोग देखिँदैन । आकाशे पुल व्यवसाय गर्ने थलो बनेको छ भने प्रचार–प्रसार गर्ने उपयुक्त स्थान ।
‘बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिँदैन’ भन्ने भनाइ ट्राफिक प्रहरीले निकै लामो समयदेखि चलाइआएको नारा हो । जुन नारा सवारी चालक तथा पैदल यात्री दुवैका निमित्त जीवनोपयोगी छ । जीवन रहे पो अरू रहन्छ, जीवन नै नरहे सब बेकार हुन्छ । आजैदेखि तपाईं–हामी सबै जना आकाशे पुलको प्रयोग गरौं, सभ्य नागरिकको परिचय दिऔं ।

प्रतिक्रिया दिनुहोस्