हुवावेद्वारा प्रमाणपत्र प्रदान «

हुवावेद्वारा प्रमाणपत्र प्रदान

चिनियाँ कम्पनी हुवावेले ‘सिड्स फर द फ्युचर’ कार्यक्रमअन्तर्गत २० विद्यार्थीलाई प्रविधिसम्बन्धी अध्ययन गराएको छ । हुवावेले काठमाडौंमा एक कार्यक्रम गरी तालिम दिएको विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । हुवावेले नेपालमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई अध्ययन गराएको जनाएको छ ।
आईसीटी पृष्ठभूमिका २० विद्यार्थीलाई प्रतिस्पर्धाबाट छनोट गरेर हुवावेले ८ दिने तालिम तथा अध्ययन गराएको जनाएको छ । यसका लागि १३६ जनाले आवेदन दिएका थिए । त्यसबाट २० विद्यार्थीको छनोट इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रोडा शशिधरराम जोशी, प्रा डा सुवर्ण शाक्य र तिमिला यमी थापाले गरेका थिए । कम्पनीले तालिमसँगै पोखरा घुमाई घान्द्रुकमा रहेको हुवावेको फोरजी बेस स्टेसनमा फिल्ड भिजिट गराएको जनाएको छ ।
दुर्गम क्षेत्रमा कसरी फोर जी सञ्चालन रहेको भन्ने ज्ञान हासिल गरेको कम्पनीको दाबी छ । हुवावेको सर्भिस लिइरहेका एनसेल र डिसहोमले विद्यार्थीलाई तालिम दिएका थिए ।
चीनले प्रविधि, नवप्रवर्तन, संस्कृतिक आदानप्रदानसम्बन्धी इन्ट्री लेभल र एडभान्स कोर्ष गराएको जनाएको छ । जसमा मुख्य प्रविधि, फाइभजी, क्लाउड कम्प्युटिङ र एआईसम्बन्धी विषय समेटिएको थियो ।
सिड्स फर दी फ्युचर कार्यक्रम कम्पनीले सन् २००८ देखि विभिन्न देशमा यो कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । हालसम्म १३० देशका ९ हजार विद्यार्थी लाभान्वित भएको कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्