गठबन्धनले नै संविधानको रक्षा गरेको हो : कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको दाबी गरेका छन् ।
सोमबार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गरेको बताएका हुन् ।
राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुकको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उनको भनाइ छ । वर्तमान सरकार विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र अर्थिक विकासको बाटोमा अघि बढेको उनले दाबी गरे । मन्त्री कार्कीले आन्तरिक एकतालाई सुदृढ गर्दै देशलाई समुद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने बताए । संविधानलाई समयानुकुल परिवर्तन गर्दै देशको राष्ट्रियता र सार्वभौमिकतालाई सुदृढ बनाउँदै नेपालीलाई सम्पन्न बनाउने दिशामा अघि बढ्नु पर्नेमा उनले जोड दिए ।