Logo

चार लेन सडक फेरि पेटी ठेकेदारको जिम्मा

दाङको घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवा सम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले पुनः पेटी ठेकेदारका रुपमा नेपाली तीन वटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको छ ।
यसअघि निर्माणको जिम्मा पाएको स्थानीय अनुप पाण्डेको अष्ट भैरव निर्माण सेवा कम्पनीले समयमै काम गर्न नसकेपछि सम्झौता तोडेर आफंै सडक निर्माण गर्ने बताएको तथ्यले पुनः अन्य निर्माण कम्पनीलाई सडकको जिम्मा दिएको हो । अष्ट भैरव निर्माण सेवासँग सम्झौता तोडेको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राले गत मंसिर १० गते घोराहीमा फोरलेन सडकको शुभारम्भ गर्दै प्रालिका प्रमुख प्रविन ब्रह्मदेव पाण्डेयले अब सडक निर्माणको काम आफ्नै कम्पनीले गर्ने बताएका थिए । तर इन्जिनियरिङ एण्ड इन्फ्राले फेरि पेटी ठेकेदारका रुपमा नेपाली निर्माण कम्पनी बेडा बाबा कन्स्ट्रक्सन, बिमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई सडक निर्माणको जिम्मा दिएको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राका प्रतिनिधि विजय पाठकले जानकारी दिए ।
पाठकका अनुसार अब बबई नदीदेखि चौघेरासम्म पहिलो खण्डको ५ किलोमिटर बेडा बाबा कन्स्ट्रक्सन, घोराहीको डिके पेट्रोल पम्पदेखि खैरासम्मको १२ किलोमिटर बिमला निर्माण सेवा र बाँकी खैरादेखि तुलसीपुरको हात्तीखौवासम्मको १२ किलोमिटर सडकको जिम्मा शिवपुरी निर्माण सेवाले गर्ने छ । तीन वटा निर्माण कम्पनीले उक्त सडक खण्डमा १४.४६ किलोमिटर सडक चारलेन र १३.७३ किलोमिटर सडक दुई लेन सडकका रुपमा निर्माण गर्ने छन् ।
निर्माण कम्पनीका अनुसार बबई नदी देखि–कुटवा खोलासम्म ६.५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दुधरासम्मको ३.७ किलोमिटर सडक दुई लेन र घोराहीको डिके पेट्रोल पम्पदेखि सर्रा चोकसम्मको ४ किलोमिटर, नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दूधरासदेखि तुलसीपुरको हात्तीखौवासम्म ८.३१ किलोमिटर सडक चारलेन बनाउने गरी सम्झौता भएको छ ।

पुरानोले सहयोग नगर्दा काममा ढिलाई
फोरलेन सडक निर्माणको शुभारम्भ गरेको २२ दिनपछि पुनः तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राले पत्रकार सम्मेलनको आयोजना गरी सडक निर्माणका लागि भइरहेको कामका बारेमा जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सडक निर्माणको जिम्मा पाएका तीन वटै पेटी कम्पनीका प्रतिनिधिलाई राखेर तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राका प्रतिनिधि पाठकले बितेको २२ दिनको अवधिमा सडक निर्माणका लागि कम्पनीले कागजी प्रक्रिया र डाटा संकलनको काम गरीरहेको बताएका छन् ।
सडक निर्माणका लागि प्रक्रिया गत कामसँगै भौतिक प्रगति अघि बढाउन कानुनी तथा प्राविधिक प्रक्रिया मिलाउने क्रममा अहिले सडकमा भौतिक प्रगति देखिने गरी काम गर्न नसकेको बताए । “पहिले निर्माणको जिम्मा पाएको ठेकेदारको लापरबाहीका कारण कागजी र कानूनी प्रक्रिया मिलाउँदा काम गर्न ढिलाई भएको छ । यो काम अब अन्तिम चरणमा छौं” उनले भने, “सडकको इन्जिनियरिङ गरेको कन्सल्टेन्सीले कागजात उपलब्ध नगराउँदा काम गर्न समस्या भएको छ । त्यो काम मिलाउन अहिले लागिपरेका छौं ।” उनले उक्त काम अबको एक हप्ताभित्र सकिने समेत बताए ।
निर्माण कम्पनीको कागजी प्रक्रिया अघि बढाएको, निर्माणका लागि चाहिने माटो ढुंगा खोज्ने काम भएको, स्ट्याम जेभी कन्सल्टेन्सीसँग सडकको पूरा इन्जिनियरिङ डिजाईन ल्याउने तथा माटो परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने काम भएको बताएको छ । पहिलो ठेकेदार पक्षले ल्याब नदिएपछि माटो परीक्षणका केन्द्रमा पठाउनु पर्दा सडकमा काम गर्न ढिलाई हुन पुगेको बताइएको छ ।
सडक निर्माणको काम २ वर्षमा काम सम्पन्न गर्ने करिब ३४ महिना अघि ठेक्का सम्झौता गरेको अष्ट भैरव निर्माण कम्पनीले काम नगर्दा मुख्य कम्पनीले ऊसँग सम्झौता तोडेको थियो । सन् २०१९ जुलाईबाट कार्य प्रारम्भ गरी मे २०२० मा सडक निर्माण कार्य सम्पन्न गरी फोरलेनको सम्झौता भएको थियो । सो आयोजना निर्माण सम्पन्न गर्न १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्