Logo

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयारः मुख्यमन्त्री

-हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
कृषि तथा औद्योगिक उत्पादनलाई सहज ढंगले उपभोक्ता समक्ष पु-याउँदै आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यले शनिबारबाट हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा सुरु भएको मेलामा मकवानपुरका चेपाङहरूले खाने गिट्ठा, भ्याकुरजस्ता स्थानीय तथा मौलिक वस्तुहरूको प्रदर्शनी, पञ्चेबाजा, खैंजडी भजन जस्ता स्थानीय संस्कृति, भेषभुषाहरूको प्रदर्शनका साथै स्थानीय जातका माछा तथा कृषि उपजहरूको प्रर्दशनी तथा बिक्रीका लागि राखिएको छ । लघु तथा घरेलु उद्यम, हस्तकला, औद्योगिक वस्तु तथा सेवाहरूको प्रवद्र्धन गर्न पनि मेला सहयोगी हुने दाबी गरिएको छ ।हेटौंडा–५ स्थित क्याम्पाडाँडा चौरमा आयोजित मेलामा ४ सयवटा स्टल राखिएको छ । शनिबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मेलाको उद्घाटन गरेका हुन् । मेलाको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री पौडेलले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रदेश सरकार सधैं तत्पर रहेको बताए । सरकार एक्लैले मात्र समृद्धिको बाटो तय गर्न नसक्ने भएकाले निजी क्षेत्रको साथ अपरिहार्य रहेको पौडेलको भनाइ थियो । “हामीले कृषि कार्यका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग सम्झौता गरिसकेका छौं । अब औद्योगिक क्षेत्रको स्थापना र ठूलाठूला रोजगारी सिर्जना गर्ने उद्योग स्थापनाका लागि कस्ता कानुन र समझदारी आवश्यक पर्छ सोहीअनुसार निजी क्षेत्रसँग सहकार्य गर्नेछौं ।” मुख्यमन्त्री पौडेलले भने, “निजी क्षेत्रसँगको सहकार्य विना विकास सम्भव छैन यो सबैले बुझेका छन् ।” मुख्यमन्त्री पौडेलले कृषिमा आधारित ठूलाठूला परियोजनाका लागि प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउन तयार रहेको बताउँदै कृषि क्षेत्रमा काम गर्न इच्छुक व्यक्ति तथा समूहरूहरूलाई भिजन र मिसनसहित आउन उनले आग्रह गरे । फरक प्रसंगमा  उनले ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै हुने दाबी गरे । आफू मुख्यमन्त्री भएकै कारण प्रदेश ३ को राजधानी हेटौंडामा टिकिरहेकोसमेत उनले दाबी गरे । “म मुख्यमन्त्री नभएको भए प्रदेशसभा बसेको दुई तीनदिन भित्रमै हेटौंडाबाट राजधानी अन्यत्र जानसक्थ्यो तर अब त्यो सम्भावना छैन,” उनले भने, “हामी एक महिनाभित्र हेटौंडालाई नै स्थायी राजधानी बनाउने तयारीमा छौं ।”वर्षा र राष्ट्रिय शोकका कारण निर्धारित समयभन्दा दुईदिन पर धकेलिएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५१ फिट अग्लो झन्डोत्तोलन गरी मुख्यमन्त्री पौडेलले उद्घाटन गरेका थिए । मेला उद्घाटनपूर्व हेटौंडाको पल्पसाहलबाट शोभायात्रा निकालिएको थियो । मेला २८ गतेसम्म जारी रहनेछ । ३ नम्बर प्रदेशका १३ जिल्लाका कृषि, घरेलु तथा औद्योगिक उत्पादनलाई विशेष प्राथमिकता दिँदै चारसय वटा स्टल राखिएको आयोजक संघ अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । करिब पाँच लाख जनाले मेला अवलोकन गर्ने तथा १० दिनको अवधिमा  करिब पाँच करोड रुपैयाँ कारोबार हुने लक्ष्य राखिएको संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले जानकारी दिए ।३ नम्बर प्रदेशका १३ जिल्लाका कृषि, घरेलु तथा औद्योगिक उत्पादनलाई विशेष प्राथमिकता दिँदै चारसय वटा स्टल राखिएको छ । मेलामा दैनिक राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । हात्ती सयर, हेलिकोप्टरबाट हेटौंडाको दृश्यावलोकन तथा घोडा चढेर महोत्सव घुम्न सकिने व्यवस्था मिलाइएको छ । मेलामा परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ पञ्चेबाजा प्रतियोगितासमेत आयोजना गरिने भएको छ । परम्परागत रोटे पिङ पनि खेल्न पाइनेछ । प्रत्येक खानाको स्टलमा दररेट राखिने, प्रत्येक दिन विशेषज्ञको सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने तथा मोबाइल र कम्प्युटरको निःशुल्क सर्भिसिङ सेवासमेत सञ्चालन गरिने संघका अध्यक्ष कृष्ण कटुवालले बताए । माछा प्लानको पोखरीमा डुंगा सयर गराउने व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्