दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापति चुनिएका हुन् ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । देउवाले २७ सय ३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८ सय ५५ मत पाएका छन् । ३५ मत भने बदर भएको थियो ।
यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत नपुगेकाले फेरि मतदान गर्नुपरेको हो । कुल ४७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए ।
पहिलो चरणमा देउवाले २२ सय ५८ पाएका थिए भने शेखरले १७ सय ०२ । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो । दोस्रो चरणमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका थिए ।