महासंघको नव उत्थान सम्मेलन बुधबार

नेपाल उद्योग वाणिज्य महासंघले आगामी बुधबार काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलन गर्ने भएको छ ।
विश्वव्यापी रूपमा देखा परेको कोभिड–१९ को महामारीबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई अझ बढी गतिशिल तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थासहित छलफल गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको महासंघले जनाएको छ ।
कोभिड–१९ बाट बढी प्रभावित क्षेत्र पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गरिएको महासंघले जनाएको छ । ‘बदलिँदो परिस्थितिमा तिव्र र दिगो आर्थिक वृद्धिको बहस’ सम्मेलनको मुख्य थिम रहेको छ ।
अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्या समाधानका उपाय, थलिएको व्यवसाय क्षेत्रलाई पुनरूत्थान र थप प्रोत्साहन गर्न सकिने विषयमा सम्मेलन केन्द्रीत हुने महासंघले जनाएको छ ।
सम्मेलनबाट क्षेत्रगत रूपमा आएका सुुझाव समेटी तत्काल कार्यान्वयनमा लैजान सरकारका सम्बन्धित अधिकारीहरू समक्ष पेश गरिने महासंघले जनाएको छ । कार्यक्रममा सरकारी अधिकारी, वित्तीय क्षेत्रका पदाधिकारी, महासंघका पदाधिकारी, पूर्व अध्यक्षहरू, कार्यकारिणी समितिका सदस्य, परिषद्का पदाधिकारी, समिति तथा फोरमका सभापतिहरू, समिति फोरमका पदाधिकारी, सदस्य एवं सल्लाहकार, उद्यमी व्यवसायी सहभागी हुने बताइएको छ ।