Logo

राष्ट्रपतिबाट ७६ करोडको शैक्षिक भवन शिलान्यास

जुम्लामा डाक्टरी पढाइ सुरु


राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लामा सञ्चालन भइरहेको एमबीबीएसको औपचारिक उद्घाटन गरेकी छन् । आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले एमबीबीएसलगायत (बी फर्ममा, बीएनएस, बीएमएस, बीपीएचलगायतका कार्यक्रमको ताम्रापत्र अनावरण गर्दै शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी हुन् ।
साथै राष्ट्रपति भण्डारीले प्रतिष्ठानमा निर्माण भइरहेको शैक्षिक तथा प्रशासनिक भवनको पनि शिलान्यास गरेकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ग्रामीण क्षेत्रको स्वास्थ्य शिक्षा र अनुसन्धानमा कर्णाली प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले रोग भोकको उपनाम पाउने कर्णालीले स्वास्थ्य क्षेत्रमा फड्को मारेको भन्दै देशलाई दक्ष जनशक्ति पठाउने सामथ्र्यको विकास भएको उल्लेख गरिन् ।
कर्णालीजस्तो दुर्गम क्षेत्रका महिलाले उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने समस्यालाई मध्यनजर गर्दै राष्ट्रपति उत्थान कार्यक्रम सुरु गरे पनि विशेषज्ञ खालको उपचार र अनुसन्धान जुम्लामै सुरु भएकाले जटिल उपचार जुम्लामै हुने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले भनिन्, “चिकित्सा शिक्षा अध्ययनका लागि विदेशीने जनशक्तिलाई प्रतिष्ठानले रोकेको छ । ग्रामीण स्वास्थ्य सेवाको उत्कृष्ट उदाहरण बनेको कर्णाली प्रतिष्ठान राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमै पहिचान बनाउन सफल छ । एमबीबीएस सफल बनाउन, प्रतिष्ठानको वृद्धि विकास गर्न राज्यको थप लगानी आबश्यक छ ।”
कर्णाली प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले कुनै बेला शवको पोष्र्टमार्टम गर्न र सामान्य उपचारका लागि डाक्टर खोज्नु पर्ने कर्णालीबासीले अब डाक्टर रोजीरोजी उपचार गराउन पाउने बताए ।
उनले भने, “कुनै समय सिटामोेल नपाएर मृत्यु वरण गर्ने कर्णालीले अब राज्यलाई रेफर बिरामी नभई विशेषज्ञ डाक्टर दिने छ । गाउँगाउँमा सेता एप्रोनधारी विशेषज्ञ चिकित्सक पठाउने छौं । प्रतिष्ठानकै माध्यमबाट रोग भोक र शोकको उपनाम पाएको कर्णालीको परिचय बदल्ने अठोट छ । निकट भविष्यमै पीएचडी कार्यक्रम पनि सुरु गर्ने लक्ष्य छ ।”
त्यस्तै कर्णाली प्रदेश प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खातुन, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरिले दुर्गम कर्णालीको जुम्लामा कर्णाली प्रतिष्ठान स्थापना गरी एमबीबीएस पढाइ सुरु गरेर राज्यलाई नै कर्णालीले चुनौती दिएको बताए । रोग भोकले ग्रसित कर्णालीमा पछिल्लो समय स्वास्थ्य सेवाका हिसाबले कर्णाली प्रतिष्ठान देशकै भरोसा केन्द्रका रूपमा स्थापित भएकोले यसको दिगो िवकासमा संघ, प्रदेश सरकारको ध्यानाकर्षण गराउने उनीहरूको भनाइ छ ।
कर्णाली प्रतिष्ठान स्थापनाले बिरामीलाई महँंगो खर्चमा जहाज चार्टड गरेर सुर्खेत, नेपालगन्ज, काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गरेको उल्लेख गरेको छ भने चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना भएका छन् । भने बी फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बीएनएसतर्फ १६ जना, बीएमएसतर्फ ८ र बीपीएचतर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् ।

७६ करोडको शैक्षिक भवन शिलान्यास
जुम्लामा आइतबार एमबीबीएस कार्यक्रमको शुभारम्भसँंगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको पनि शिलान्यास गरिएको छ । आइतबार जुम्ला पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सुरुवातमै निर्माण भइरहेको प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गरेकी हुन् ।
प्रतिष्ठानमा पाँच तले शैक्षिक भवन निर्माणकार्य थालिएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए । उनले भने, “एमबीबीएसलगायत थुप्रै कार्यक्रम सञ्चालन गरेका छांै । हाम्रा चुनौतीमध्ये आवास पनि एक हो भने शैक्षिक भवन नहुँदा पनि समस्या छ । त्यसैले करिब ७६ करोडको लगानीमा भवन निर्माण अघि बढाएका छांै ।”
७६ करोड लागतमा निर्माण हुन थालेको शैक्षिक भवन निर्माणको जिम्मा पनि तीन सय शैया अस्पताल निर्माण गरेको सरुवा निर्माण कम्पनीले पाएको छ भने आगामी साढे दुई वर्षभित्र शैक्षिक भवनको निर्माण सम्पन्न हुनेछ ।
शैक्षिक भवनको निर्माणले प्रतिष्ठानमा आउने नयाँ विद्यार्थी, प्राध्यापकहरूको खान बस्न व्यस्थित हुने र अन्य खानेपानी, इन्टरनेट बत्तीको विकासलाई सँंगसँगै अघि बढाइने रजिष्ट्रार महतको भनाइ छ ।
एमबीबीएस शुभारम्भको अनावरण तथा भवन शिलान्यास गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर ः कारोबार

प्रतिक्रिया दिनुहोस्