Logo

शब्दचित्रमा रवीन्द्र अधिकारी

संविधानसभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरूको दबाब समिति निर्माण गरी संविधानसभा निर्माणमा निरन्तर खबरदारी गर्नुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहितको समूह चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको छ । यस दुर्घटनापछि मुलुक नै शोकमा डुबेको छ । मन्त्री अधिकारीको गृहजिल्ला कास्की स्तब्ध बनेको छ । उनका समर्थक, शुभेच्छुक सबै मर्माहत भएका छन् । उदीयमान, आसलाग्दा, प्रखर युवा नेता मन्त्रीको हवाई दुर्घटनामा परी दुखान्त निधन भएको छ ।
कास्कीको साविक भरतपोखरी गाविस हाल पोखरा–२१, जामुनाबोटमा २०२६ वैशाख २२ गते आइतबार आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका ज्येष्ठ सुपुत्रका रूपमा जन्मनुभएका रवीन्द्र अधिकारी सानै उमेरदेखि उत्सुक र जिज्ञासु स्वभावका व्यक्ति हुनुहुन्थ्यो ।
ब्रह्म ज्योति प्रावि, शान्ति पँधेरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि, बरपाण्डेथुमबाट माध्यमिक शिक्षा हासिल गर्नुभएको थियो । बुवा इन्द्रप्रसाद अधिकारी माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो, जसका कारण पनि उहाँलाई शिक्षाका लागि राम्रो वातावरण घरदेखि नै थियो । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबहरूमा संलग्न हुनुभयो । विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायतका मध्यमबाट राजनीतिक जागरण सिर्जना गर्न सफल अधिकारी हाईस्कुले जीवनमा विद्यालयका जेहनदार, लगनशील, अध्ययनशील र अनुशासित विद्यार्थी हुनुहुन्थ्यो । उहाँहरूले हजारौं दर्शकको बीचमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम विद्यालय जीवनमै प्रदर्शन गरेको कुरा कसैबाट पनि छिपेको छैन । त्यस समयमा उहाँले विद्यालयमा मात्र होइन, त्यस क्षेत्रमै अनेरास्ववियुको नेतृत्व पनि गर्नु भएको थियो ।
प्रवेशिका परीक्षा उत्तीर्ण गर्नेबित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएको भए पनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरु गरे । विद्यालयदेखि नै राजनीतिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि विद्यार्थी र राजनीतिक गतिविधि दुवैतर्फ उनी सक्रिए हुँदै अघि बढे । २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा तथा २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित हुनुभयो । २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्नुभएका अधिकारी २०५३ सालमै स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएको थियो ।
त्रि.वि.बाट व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका उहाँले ‘संविधानसभा, लोकतन्त्र र पुनर्संरचना’ पुस्तक २०६३ मा प्रकाशित गर्नुभएको छ । विगत दुई दशकदेखि उहाँका सयौं अनुसन्धान र राजनीतिक लेखहरू छापिएका छन् । २०४५ मा १ वर्ष माध्यमिक विद्यालयमा अध्यापन गर्नुभएका अधिकारी अहिलेसम्म पनि विभिन्न क्याम्पसमा अतिथिका रूपमा अध्यापन गर्नुहुन्थ्यो । एसियाली विद्यार्थी संगठन (एएसए), विश्व प्रजातान्त्रिक युवा संघलगायत अन्तर्राष्ट्रिय युवा विद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नुभएका अधिकारीले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुभएको छ ।

संसद् र संविधान सभा
२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं. ३ बाट निर्वाचित भएपछि संसद्मा खेलेको भूमिका सबैलाई अवगत भएकै कुरा हो । सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत्, फ्रिक्योंसी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, मेसिन रिडएबल पासर्पोर्ट (एमआरपी) आदि विषयमा विभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गर्नुभएको छ । संविधानसभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरूको दबाब समिति निर्माण गरी संविधानसभा निर्माणमा निरन्तर खबरदारी गर्नुभएको थियो । संविधानसभा निर्माणमा सुरक्षा र अन्तर्राष्ट्रय सीमाका विषयमा उपसमितिको नेतृत्व गर्नुभएको थियो । २०७० को चुनावपछि संसदको विकास समितिमा सभापति रहनुभयो । संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उचाइ दिन सफल अधिकारी राष्ट्रिय गौरवका योजनाहरू र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील रहनुभयो । २०७४ सालको संघीय संसद्मा कास्की क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको छ । लगातार तेस्रो पटक निर्वाचित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हुनुहुन्छ ।

सांसद पहारीको नजरमा मन्त्री अधिकारी
गण्डकी प्रदेश सांसद राजीव पहारीको नजरमा मन्त्री अधिकारी एक सच्चा देशको पहरेदार देशभक्त र सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । २०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित हुँदा हाम्रो अगुवाइमा हामीले उहाँलाई विजयी गराएका थियौं । उनले भने, “२०५३ सालदेखि नै म रवीन्द्रजीसँग नजिक छु, न कि मेरो पारिवारिक अवस्थालाई मजबुत पार्न मेरो विवाह गराउने पनि उहाँले नै गराउनुभएको हो, मेरो अभिभावक हुनुहुन्छ । आज मैले र हामी जो–कोहीले कल्पना गर्न नसक्ने कुरा हामीलाई अझै पत्याउन गा¥हो भयो उहाँ यो संसारमा हुनु हुन्न भन्ने कुराले गर्दा ।” विगत ५ दिनअघि मात्र प्रत्यक्ष भेटघाट गरी कुराकानी गरेको बताउँदै सांसद पहारीले आफूले फेवाताल संरक्षणमा मन्त्रालयले थोरै चासो दिनुपर्छ भन्ने विषयमा कुरा उठान गर्न आग्रह गर्दा फेवाताल संरक्षणमा मन्त्रालय सकरात्मक रहेको प्रतिक्रिया दिएको जनाए । रवीन्द्रका बाबु, आमा, एक श्रीमती, दुई छोरा छन् । उनका बाबु–आमालाई हाल पोखराबाट काठमाडौंतर्फ हवाई मार्ग हुँदै लगिएको बताइन्छ ।

विद्यार्थी आन्दोलन र जेलजीवन
पञ्चायती निरंकुशतालाई समाप्त पार्ने आन्दोलनमा पनि होमिनुभएका अधिकारीले पञ्चायतकालमा विद्यार्थी आन्दोलन स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील थिए । आजको आवश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागि पञ्चायतको अन्त्य भन्ने नाराका साथ ०४६ को जनआन्दोलनमा क्रियाशील रवीन्द्र पञ्चायतकालमा पटक–पटक गरी ६ महिना जेल र हिरासतमा बिताउनुभयो । शैक्षिक मुद्दा र माग पनि व्यवस्थासँगनै जोडिएका हुन्थे । ०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उहाँले क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्नुभएको थियो । ०४६ को परिवर्तनपछि विद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने विचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नुभयो । कलेज भवन निर्माण, क्याम्पस गेट, बाटो निर्माण, शैक्षिक वातावरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप, शैक्षिक गुणस्तर सुधार, क्याम्पसमा विद्यार्थीको पोसाक आदि कुरामा ठूलो सुधार र परिवर्तन भयो ।
त्रिविको स्ववियु सभापति हुँदा पुस्तकालय, शैक्षिक वातावरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रवेश परीक्षा, वरिष्ठ प्राध्यापकहरूको सम्मानजस्ता रचनात्मक कार्यक्रम सञ्चालन गरेर लोकप्रियता कमाउनुभएका अधिकारीले विश्वविद्यालयमा निरन्तर प्राज्ञिक बहस सञ्चालन गर्नुहुन्थ्यो । अर्थशास्त्र विभागका प्राध्यापक टीपी चौधरीलाई वरिष्ठ प्राध्यापकको उपाधि उहाँकै पहलमा सम्भव भएको थियो ।
शिक्षामा भएको निजीकरण र व्यापारीकरण, प्राविधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षाजस्ता आन्दोलन र राष्ट्रियताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू–भाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध तथा शाहज्यादा पारस शाहको ज्यादतीविरुद्ध आन्दोलन, हत्यारा बस्ने दरबारमा हैन, जेलखानमा हो भन्दै पाँच लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने, यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाइ गरेकै कारण विद्यार्थी आन्दोलनमा उहाँको नाम नमेपटने गरी लेखिएको छ ।

नेकपा एमाले पार्टी राजनीतिमा
२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनुभएको थियो । २०४० मा इलाका पार्टी कमिटीमा, २०४६-४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहनुभयो । २०६० सालमा पार्टीको कास्की जिल्ला कमिटीको सचिव र ०६३ मा पनि पुनः सचिवमा निर्वाचित हुनुभयो । ०६२-६३ को अन्दोलन र त्यसअगाडिको प्रतिगमन विरुद्धको आन्दोलनमा पटक–पटक गरी पाँच महिना जेल बस्नुभयो । पार्टीको राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्य भएर काम गरिसक्नुभएका अधिकारी हाल पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य, केन्द्रीय पार्टी स्कुल विभाग र संसदीय विभागको सदस्य हुनुहुन्छ ।

विदेश भ्रमण
विद्यार्थी नेता, पार्टी नेता र संविधानसभा-संसद् सदस्यका हैसियतले नेपालको प्रतिनिधित्व गरेर उहाँले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाइल्यान्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्युबा, पाराग्वे, दक्षिण अफ्रिका, अल्जेरिया, कम्बोडिया, नर्वेलगायतका देशको भ्रमण गरिसक्नुभएको छ ।

राजनीति र विकास
राजनीति र विकास एक–अर्काका अन्तरसम्बन्धित हुन् भन्ने ठान्ने रवीन्द्र अधिकारीले संविधानसभा-संसद्मा रहँदा कास्की जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभयो । पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा, वेगनास, रूपालगायतका तालतलैयाको संरक्षण, सरसफाइ, पोखरा फराकिलो बनाउने, पुलहरू निर्माण गर्ने, पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसलगायत विभिन्न विद्यालयको निर्माण, पोखराको खानेपानी, क्लबहरू, खेलकुदको क्षेत्रमा पनि उल्लेख्य भूमिका खेल्नुभएको छ । पोखरालाई विश्वकै उत्कृष्ट सहर बनाउने अभीष्ट बोक्नुभएका अधिकारीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौं–पोखरा–लुम्बिनी फास्ट ट्र्याक, काठमाडौं–पोखरा रेल्वे, मध्यपहाडी राजमार्गजस्ता पूर्वाधार निर्माणको दबाब सिर्जना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो । विकासका लागि राजनीति भन्ने मान्यता अनुसार कास्की जिल्ला मात्र होइन, मुलुककै आर्थिक विकासको दृष्टिकोण दिँदै आउनुभएका अधिकारी एक जना विकासप्रेमी राजनेता हुन्हुन्छ । पछिल्लो समय व्यवस्थापिका संसद्को विकास समितिको सभापति भएपछि उहाँलाई नेपालको विकासमा केही हस्तक्षेप गर्न, केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने लागेर विकासका कार्यमा झनै सक्रियताका साथ उहाँ लागिपर्नुभएको छ । उहाँ पछिल्लो सयम मेलम्ची खानेपानी आयोजना, कर्णाली करिडोर, बागमती करिडोर, कालिगण्डकी करिडोर, नेपाल–चीन जोड्ने नाकाहरू, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ–काठमाडौं फास्टट्र्याक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायतका आयोजनाको अनुगमन तथा निरीक्षण र उक्त आयोजनाहरू कार्यान्वयनका लागि क्रियाशील हुनुहुन्छ । संविधानसभा, लोकतन्त्र र पुनर्संरचना, त्यसै गरी समृद्ध नेपाल नामका दुईवटा पुस्तक प्रकाशन गरिसकेका छन् भने थुप्रै पत्रपत्रिकामा उनले समसामहिक लेखरचना प्रकाशन गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्