Logo

नाडाको ४५ औं साधारणसभा

‘नेपालमै उद्योग स्थापना गर्न सरकार प्रतिवद्ध छ’


अर्थमन्त्री जनार्दन शर्माले अटोमोवाइलका उद्योगलाई नेपाललमा स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक समारोह उद्घाटन गर्दै मन्त्री शर्माले सडक, जमिन, बजार उपलव्ध भएसँगै नेपालमै इनोभेसन गर्ने कुरालाई ध्यान दिनुपर्ने बताएका छन् । “विद्युतमा दिने सहुलियत, जग्गाको उपलव्धता, श्रम गर्दा निरन्तर उद्योग चल्ने ग्यारेन्टी दिन सरकार प्रतिबद्ध छ” उनले भने, “फरक ढंगले यो व्यवसायलाई उठाउन सकिन्छ कि व्यवसायीलाई त्यसतर्फ लाग्न अनुरोध छ ।”
उनले अटोमोवाइल्स एसोसिएनले पु-याएको राजस्व, रोजगारी सिर्जना, केनेक्टिभिटीदेखि अन्य क्षेत्रम पु-याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले भने, “बढ्दो आयात र व्यापार घाटा कम गर्नतिर ध्यान केन्द्रित गर्न जरुरी छ । हामीसँग भएको उपलब्धता भनेको पानी अर्थात विजुली हो । सबैभन्दा बढि आम्दानी पनि यसैको उपभोगबाट गर्न सकिन्छ ।”
मन्त्री शर्माले अटोमोबाइल्स क्षेत्रले राजस्वमा पु-याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी थप योगदान गर्न समेत व्यवसायीलाई आग्रह गरे । उनले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गरे । “त्यो २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पु¥याउन तपाईँहरूलाई आग्रह छ” उनले भने, “आजको दिनमा जहाँ पनि प्रविधि पु¥याउन सकिन्छ । जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईँहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?”
उत्पादनका लागि विद्युतमा उपलब्ध गराउनुपर्ने सहुलियत, जग्गा व्यवस्थापन, श्रम गर्दा निरन्तर उद्योग चलाउने वातावरणको ग्यारेन्टी लगायतका सरकारले उपलब्ध गराउनुपर्ने सेवाहरूको व्यवस्था गर्ने बाचासमेत मन्त्री शर्माले गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ विशेष पहल गर्नुपर्ने बताए । उनले भने, “मुलुकभित्र दुई पांग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन् । सरकारले समय अनुसार नीति नियम समय सान्दर्भिक बनाएर लानु पर्छ ।” सरकारले सरोकारवाला पक्षसँग छलफल गरेर परम्परागत नीति नियमलाई परिवर्तन गर्दै जाँदा आम जनतालाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष्य हाासिल गर्न सहज हुने ढकालको विश्वास छ ।
सरकारको लक्ष्य नै आर्थिक विकास र समृद्धिको यात्रा सडक पूर्वाधार,कृषि, पर्यटन, औद्योगिक विकास नै हो भन्ने कुरामा प्रष्ट हुन जरुरी रहेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । उनले भने, “कोरोनाबाट प्रभावित उद्योग व्यवसायीहरूको राहतका लागि सरकारले गरेको आयकरतर्फको छुट, बैंकको कर्जामा दिएको ब्याज छुट र न्यूनतम ब्याजमा दिएको कर्जाले भन्सारमा मालवस्तुको यथार्थ घोषणा र सही वर्गीकरण गराई भन्सार मूल्यांकन प्रणालीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाइनु आवश्यक रहेको अध्यक्ष दुलालको भनाइ थियो ।
विद्युतीय सवारी साधनहरूमा प्रयोग हुने ब्याट्रीहरू नेपालमै उत्पादन गर्न सकिने अवस्था विद्यमान रहेको सन्दर्भमा यसको उत्पादनमा प्रयोग हुने सबै कच्चा पदार्थको आयातमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्थाका लागि मन्त्रीसँग आग्रह गरेका छन् ।
बिहीबारसम्म हुने नाडाको साधारणसभा तथा नयाँ कार्य समिति छनोटको लागि अध्यक्षको लागि करण चौधरी र ध्रुव थापा प्यालनसहित चुनावी मैदानमा रहेका छन् । ३२ सय साधारण सदस्यले बिहीबार हुने निर्वाचानबाट २ वर्षका लागि कार्य समिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्