संघ मातहतका कार्यालयको पुँजीगत खर्च २ प्रतिशत मात्र «

संघ मातहतका कार्यालयको पुँजीगत खर्च २ प्रतिशत मात्र


गोरखामा संघ सरकार भन्दा प्रदेश सरकार मातहतका कार्यालयको पुँजीगत खर्च बढी रहेको पाइएको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्म संघ भन्दा प्रदेश सरकार मातहतका कार्यालयको पुँजीगत खर्च बढी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ ।
यो अवधिमा संघ मातहतका कार्यालयको पुँजीगत खर्च २.५१ प्रतिशत रहेकोमा प्रदेश मातहतका कार्यालयको पुँजीगत खर्च १५.९८ प्रतिशत रहेको प्रमुख कोष नियन्त्रक महेन्द्रप्रसाद भण्डारीले बताए । “संघ सरकार मातहत जिल्लामा रहेका ३३ कार्यालयका लागि चालु आर्थिक वर्ष ९ अर्ब ४४ करोड ८९ लाख ९० हजार रुपैयाँ पुँजीगत बजेट छ” उनले भने, “साउनयता २३ करोड ७५ लाख ९५ हजार ७ रुपैयाँ ८० पैसा मात्र खर्च भएको छ ।” प्रतिशतका आधारमा यो २.५१ मात्र हो ।
संघ मातहतका कार्यालय अन्तरगत बुढीगण्डकी जलविद्युत आयोजना मुआब्जा वितरण पुर्नबास तथा पुनसर््थापना इकाईका लागि सबैभन्दा धेरै पुँजीगत बजेट छ । सो कार्यालय अन्तरगत ७ अर्ब ४० करोड १६ लाख रुपैयाँ बजेट रहेकोमा १३ करोड रुपैयाँ मात्रै खर्च भएको छ । “धेरै बजेट रहेको कार्यालयको खर्च नै कम भएकाले समग्रमा पुँजीगत खर्च कम देखियो” प्रमुख कोष नियन्त्रक भण्डारीले बताए ।
इकाई अन्तरगत मुआब्जा वितरणमा भएको ढिलाइले रकम खर्च हुन नसकेको हो ।
अन्य कार्यालयको पनि पुँजीगत खर्च १० प्रतिशत भन्दा कम रहेको कार्यालयले जनाएको छ । यो आर्थिक बर्ष संघ मातहतका कार्यालयको चालु खर्च भने २५.६३ प्रतिशत छ । चालुतर्फ ६ अर्ब ८७ करोड ५९ लाख २१ हजार ६ सय ७ रुपैयाँ बजेट रहेकोमा हालसम्म १ अर्ब ७६ करोड २७ लाख ६५ हजार ६ सय ११ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चार महिनाको अवधिमा जिल्लामा रहेका संघ सरकार मातहतका कार्यालयबाट ३८ करोड ९० लाख ९ हजार ९ सय ४४ रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै, प्रदेश सरकार मातहत दुई पोलिटेक्नीक इन्स्टिच्युटसहित १३ कार्यालयका लागि १ अर्ब ७९ करोड ९० लाख ५० हजार रुपैयाँ पुँजीगत बजेट रहेकोमा २८ करोड ७४ लाख ९९ हजार ६ सय ७३ रुपैयाँ ८१ पैसा मात्रै खर्च भएको छ ।
प्रतिशतका आधारमा यो खर्च १५.९८ प्रतिशत रहेको कार्यालयले जनाएको छ । यी कार्यालयहरुको चालु खर्चपनि १४ प्रतिशत मात्रै छ । चालुतर्फ ७३ करोड ९१ लाख रुपैयाँ बजेट रहेकोमा १० करोड ३७ लाख २७ हजार ३ सय ९४ रुपैयाँ मात्रै खर्च भएको कार्यालयको विवरणमा उल्लेख छ ।
जिल्लामा रहेका प्रदेश सरकार मातहतका कार्यालयबाट पहिलो चौमासिकमा २ करोड ७३ लाख २२ हजार ३ सय ४२ रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्