नेवानिलाई खतराजन्य पदार्थ आयातको अनुमति «

नेवानिलाई खतराजन्य पदार्थ आयातको अनुमति

नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ (डेन्जर गुड्स) ओसारपसार गर्न अनुमति प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले निगमलाई खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति दिएको हो ।
निगमले विगत ६ दशकभन्दा बढीदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । योसँगै निगमलाई खतराजन्य पदार्थ ल्याउनका लागि अनुमति प्राप्त भएको हो ।
निगमको एयरबस ए–३२० र ३३० विमानलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति प्रदान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निगमले प्राप्त गरेको प्रमाणपत्र उच्चतम कार्यको प्रतिफल र सराहनीय कार्य भएको उल्लेख गर्दै निगमको आय वृद्धिमा टेवा पुग्ने बताए ।
विगत ६३ वर्षदेखि हालसम्म निगमले जनरल कार्गाे ओसारपसारमा मात्र सीमित रहेकोमा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गत पर्ने कार्गो सामानको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउनेछ । निगमको एयर बस ए ३३० को विमानले कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकोमा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गतका विभिन्न औषधिजन्य र विद्युतीय सामानलगायतका सामानको ओसारपसारमा सहजता भई उक्त विमानको उच्चतम सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुने निगमले जनाएको छ । कार्गोको आयातबाट निगमको आम्दानीमा समेत उलेख्य वृद्धि हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्