पूर्वाधार कार्यालयको जोड बहुवर्षीय योजनामा «

पूर्वाधार कार्यालयको जोड बहुवर्षीय योजनामा


एक निर्वाचन क्षेत्र एक बहुवर्षीय योजना अनिवार्य गरिएको छ । स्थानीय तह, प्रदेश र संघ सरकारले गर्ने विकास निर्माणबाहेक निर्वाचित जनप्रतिनिधिको निर्वाचन क्षेत्रमा छुट्टै बहुवर्षीय योजना निर्माण गरिने व्यवस्था छ । तर जुम्लाका दुईवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र (ख) सिंजा क्षेत्रमा हालसम्म पनि बहुवर्षीय योजना सञ्चालन हुनसकेको छैन ।
तर जुम्लाको पूर्वाधार विकास कार्यालयले भने दुवै निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना निर्माण प्रक्रियालाई प्राथमिकता दिएको छ । जसमा हाल जुम्ला चोत्रा काइगाउँ बहुवर्षीय योजनाको भने ठेक्क लगाइएको छ । पूवार्धार विकास कार्यालय जुम्लाका सूचना अधिकारी टेक हितान भन्छन्, “निर्वाचन क्षेत्र (क) मा २७ करोड लागतको जुम्ला चोत्रा काइगाउँ सडक बहुवर्षीय योजनाको ठेक्का लगाएका छौं । अब चाडै काम सुरु हुन्छ । तर निर्वाचन क्षेत्र (ख) सिंजा क्षेत्रमा भने बहुवर्षीय योजना सफल भएको छ्रैन ।”
(जुम्ला, जलजला, थालाचौर गुठिज्युला गोठेलबाडा, कालाँडा बुडु हुँदै मुगु रारा) जोड्ने सडकलाई बहुवर्षीय योजनाका रूपमा अघि सारिएको छ । करिब २० करोड बढी लागत लाग्ने उक्त योजनालाई स्वीकृतका लागि सबै फाइल तयार गरेर अर्थमा पठाइएको समेत सूचना अधिकारी हितानले बताए । यद्यपि उक्त बहुवर्षीय योजना स्वीकृति भएमा ठूलो उपलब्धि हासिल हुने उनको भनाइ छ ।
त्यसका साथै जुम्लाकै अर्को बहुवर्षीय योजना (जुम्ला एयरपोर्ट, उर्थु खाली, न्याउरीघाट बुलबुले सडकको चारवटा प्याकेजमा निर्माण भइरहेको छ । जसमा पहिले प्याकेज जुम्लादेखि उर्थुखालीसम्म निर्माण सम्पन्न भएको छ भने तीनवटा प्याकेज निर्माण सम्पन्नकै क्रममा छन् ।
जुम्लामा समस्याग्रस्त रुग्ण योजना नरहेको र बहुवर्षीय योजनाका लागि संघ प्रदेश सरकारले आवश्यक लगानी गर्न जरुरी देखिएको छ ।
साथै पूर्वाधार विकास कार्यालयले नाग्म गमगडी राजमार्गदेखि कनकासुन्दरी मन्दीरलाई जोड्ने झुलंगे पुल निर्माण प्रक्रियालाई समेत अघि बढाइएको छ भने जुम्ला रारा जोड्ने छोटो मार्ग जुम्ला उर्थु खाली न्याउरीघाट सडकमा आबश्यक बजेट भए पनि बजेट सुनिश्चिताका लागि माग गरिएको छ । हाल आठ करोड बजेट भए पनि आवश्यकता भने ३२ करोड बजेटको छ ।
पूर्वाधार विकास कार्यालयले आफ्ना नियमित कार्यक्रम दोस्रो चौमासिकबाट सुरु हुने बताएको छ । विभिन्न कारणले पहिलो चौमासिकमा काम नभएको दोस्रो चौमासिक टेण्डर आह्वानका सबै काम सुरु हुने बताइएको छ । साथै पूर्वाधार विकास कार्यालय दुवै निर्वाचन क्षेत्रमा पूर्वाधार विशेष कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्