बजार प्रतिस्पर्धाका रोचक पक्षहरू «

बजार प्रतिस्पर्धाका रोचक पक्षहरू

कोकाकोला र पेप्सी विश्वमै प्रतिस्पर्धी कम्पनी हुन् । दुईटै कम्पनीले एकै प्रकृतिको वस्तु उत्पादन गर्छन् । तर, यी कम्पनीले कहिल्यै मूल्यमा प्रतिस्पर्धा गर्दैनन् । मूल्य बाहेकमा तीव्र प्रतिस्पर्धा सधैं हुन्छ । दुई कम्पनीको बिजनेस विभिन्न ठाउँ र समयमा कहिले कुन पहिलो त कहिले कुन पहिलो हुन्छ । यस लेखमा बजारमा देखिने रोचक प्रवृत्तिलाई अर्थशास्त्रको आँखाले विश्लेषण गर्ने प्रयास गरिएको छ ।
पेप्सी र कोक दुवैले धेरै प्रडक्ट निकाल्छन् । उनीहरूको आफ्नै प्रडक्टबीच प्रतिस्पर्धा हुन्छ । अन्य बहुराष्ट्रिय कम्पनीले पनि धेरै प्रडक्ट निकालेर आफैंबीच प्रतिस्पर्धा गर्छन् । उदाहरणको लागि युनिलिभर नेपालले थरीथरीका साबुन उत्पादन गर्छ, ती साबुनबीच एक–आपसमा प्रतिस्पर्धा हुन्छ ।
कोक र पेप्सी बजारमा सबैभन्दा नजिकका प्रतिस्थापक अर्थात् क्लोज्ड सब्स्टिच्युट वस्तु हुन् । दुवैको स्वाद, तौल र मूल्य उस्तै हुन्छ । दुवैको माग उपभोक्ताबाट बराबर हुनुपर्ने हो तर हुँदैन । तथापि व्यक्तिको रुचिअनुसार यी पेयपदार्थको स्वादमा केही फरक महसुस गर्न सक्छन् । पेप्सी र कोक विश्वमा सबैभन्दा बढी विज्ञापन र प्रायोजनमा खर्च गर्ने कम्पनी हुन् । यत्रो पैसा विज्ञापनमा खर्च गर्नुभन्दा ५ प्रतिशत मूल्य घटाएर बिक्री गरेको भए धेरै बिक्री हुन्थ्यो होला भन्ने कल्पना कसैले गर्न सक्छ ।
मूल्य घटाएर त प्रतिस्पर्धा नै हुँदैन, किनकि एउटा कम्पनीले मूल्य घटाउनासाथ अर्कोले पनि घटाउँछ । पुनः दुवैको मूल्य बराबर हुन्छ र माग पुरानै अवस्थामा आउँछ । यी कम्पनीले बजार मूल्य सम्बन्धित मुलुकका मानिसको क्रयशक्तिलाई मध्यनजर गरेर तय गर्छन् । यस्ता पेय आधारभूत आवश्यकता होइनन्, यिनले शरीरको कुनै आवश्यकता पूरा गर्दैनन् । पानी तिर्खा लाग्दा पिइन्छ, मदिरा निश्चित समय र परिस्थितिमा मात्र पिइन्छ तर कोक वा पेप्सी जहिले पनि पिइन्छ ।
दुई पेय पदार्थ नजिकका प्रतिस्थापक भएकाले बजारमा एउटाको सहज उपलब्धताले अर्कोको बिक्री सहजै घटाउन सक्छ । त्यसैले उपभोक्तामाझ लोकप्रिय हुन दुवैले विज्ञापनमा अत्यधिक खर्च गर्छन् । विक्रेताहरूले उपभोक्तामाझ सहजै पु¥याउन भनेर स्किमहरू लागू गर्छन् । उपभोक्ता मूल्य एउटै भए पनि होलसेलर र रिटेलरको खरिद मूल्यमा बेलाबेला निकै फरक परेको हुन्छ । यति कार्टुन किन्दा यति निःशुल्क वा महिनामा यति बिक्री गरे यति निःशुल्क जस्ता अनेक स्किम लागू गरिएका हुन्छन् ।
मूल्य नघटाई गरिने प्रतिस्पर्धाले उनीहरूलाई सन्तुलनको नजिक राखिराख्न सकेको छ र दुवै कम्पनी टिकिरहेका छन् । दुइटा मात्र कम्पनी भएको हुनाले यो सम्भव भएको हो । एकाधिकार अर्थात मोनोपोली, दुईको अधिकार अर्थात डुओपोली र सीमित कम्पनीको अधिकार अर्थात् ओलिगोपोली बजारमा मात्र यस्तो अभ्यास सम्भव हुन्छ । यदि धेरै कम्पनी हुन्थे भने मूल्यमा समेत प्रतिस्पर्धा हुन सक्थ्यो र कुनै कम्पनी सहजै टाट उल्टिन सक्थे ।
बजारमा तरकारीको मूल्यमा केही दिनको अन्तरमै ठूलो उतारचढाव हुन्छ । तर, रेस्टुराँमा खानाको मूल्य स्थिर रहन्छ । खानाको हकमा रेस्टुराँले सस्तोमध्येको तरकारी प्रयोग गरेर आफ्नो कूल लागतलाई स्थिर राख्ने प्रयास गर्न सक्दछ । भेज मोमोको हकमा यो सम्भव छैन । बन्दाकोभीको मूल्य कहिले ५ रुपैयाँ केजी त कहिले ६० रुपैयाँ केजी हुन्छ । कच्चापदार्थको मूल्यमा जति उतारचढाव आए पनि तयारी वस्तुको मूल्य अल्पकालमा परिवर्तन हुँदैन ।
प्याकेजिङ गरिने वस्तुमा मूल्य परिवर्तनको समेत लागत हुन्छ । ठूलो संख्यामा निश्चित मूल्य ट्याग गरेर ¥यापर प्रिन्ट गरिएको हुन्छ । डिपो, सप्लार्य, होलसेलर, रिटेलरसम्म निश्चित मूल्यका आधारमा सम्झौता र डिलहरू भएका हुन्छन् । उत्पादन लागत थेग्न नसक्ने गरी बढ्यो, प्रतिस्पर्धीले मूल्य बढाइसके, मूल्य बढाए पनि किन्न उपभोक्ता तयार छन् । तैपनि कम्पनीले मूल्य बढाउन सक्दैन, किनकि मूल्य हेरेफेर गर्दा लागत निकै बढ्न सक्छ ।
मूल्य फेरफेर गर्नासाथ सामानको फिर्ता, बिक्री मूल्य उठाउन, गणना गर्न र हिसाब गर्न कठिन हुन्छ । त्यसैले आफ्नो प्रडक्टमा मूल्य हेरफेर गर्नुप¥यो भने प्रडक्टको ब्राण्ड, मोडल, आकार, तौल, प्याकेजिङ आदि फेरेर उही वस्तु फरक मूल्य ट्यागमा निकाल्नुपर्छ ।
मूल्य ट्याग नहुने र मोनोपोली भएको पेट्रोलियममा भने तुरुन्तै मूल्य हेरफेर गर्न सकिन्छ । मूल्य घटेमा महँगोमा किनेर भण्डारण गरेको भए पनि सबैले सस्तोमा बेच्नुपर्छ र मूल्य बढेमा सस्तो स्टकको पनि मूल्य बढाएर बेच्न सकिन्छ । परफेक्ट अर्थात् पूर्ण प्रतिस्पर्धा भएको र पूर्ण प्रतिस्थापक वस्तुमा पनि यसरी मूल्य तलमाथि हुन्छ । जस्तै ः सुनको मूल्य सबै पसलमा एकैपटक तलमाथि हुन्छ । स्टकबाट फाइदा वा नोक्सान जे पनि हुन सक्छ । २४ क्यारेटको सुन भनेपछि जुन देशको जुन कम्पनीले उत्पादन गरेको भए पनि एउटै हो ।
बजारमा भाडा दर निकै बढ्यो, आफूले पनि बढाउँदा भाडामा लिने तयार छने तर पनि पुरानै भाडावाललाई घरजग्गाको भाडा वृद्धि गर्न कठिन हुन्छ । वार्षिक ५÷१० प्रतिशत मात्र भाडा बढाउन सकिन्छ तर भाडावालले छोड्यो भने नयाँलाई भाडामा दिँदा बजार दरसँग समान हुने गरी १ सय प्रतिशत पनि बढाउन सकिन्छ ।
त्यस्तै, आप्mनै कम्पनीमा ६ तहमा काम गरिरहेको कर्मचारीले एकदमै उत्पादक काम गरेको हुनाले एकै पटक ९ तहमा बढुवा गर्दा वा दोब्बर तलबभत्ता वृद्धि गर्दा पनि कम्पनीलाई नोक्सान हँुदैन । तैपनि उसको तलब वृद्धि र बढुवा क्रमिक मात्र हुन सक्छ । तर, समान योग्यता, दक्षता र उत्पादकत्व भएको नयाँ जनशक्तिलाई एकैपटक चाहेको पद र तलबभत्तामा नियुक्त गर्न सकिन्छ ।
रैथाने बीउले खेती गर्ने हो भने पुनः अर्को वर्ष बीउ किन्न पर्दैन । जीएमओ वा हाइब्रिड बीउले खेती गर्ने हो भने अर्को वर्ष पुनः बीउ किन्न लागत पर्न जान्छ, किनकि त्यस्तो बीउको उत्पादत्व अर्को पुस्तामा सर्दैन । सधैं एउटै बाली लगाउने किसानका लागि रैथाने बीउ उपयुक्त हुन सक्छ । तर बजारमा जुन बालीको मूल्य जुन वर्ष बढी पर्दछ, त्यो बाली लगाउने किसानलाई हाइब्रिड नै उपयुक्त हुन्छ, किनकि पोहोरको बीउ अहिले खेती गरिन्छ भन्ने निश्चित हुँदैन ।
यसरी बजारमा वस्तुको मूल्यलाई उपभोक्ताको क्रयशक्ति र मागमा आएको परिवर्तनले मात्र होइन, प्रतिस्पर्धी कम्पनीको व्यवहार तथा बजारमा नयाँ कम्पनीको उपस्थिति वा पुराना कम्पनीको बहिर्गमनले पनि असर पर्छ ।

प्रतिक्रिया दिनुहोस्