‘लागत न्यूनीकरण गर्न नसक्नु नै औद्योगीकरणको मुख्य समस्या’ «

‘लागत न्यूनीकरण गर्न नसक्नु नै औद्योगीकरणको मुख्य समस्या’


नेपालमा औद्योगीकरण नहुनुको मुख्य कारण उत्पादन लागत उच्च हुनु रहेको सरोकारवालाले बताएका छन् । सातांै उद्योग दिवसका अवसरमा सरोकारवालाहरुले उत्पादन लागत बढी हुँदा प्रतिस्पर्धी जातावरणमा उत्पादनहरुले प्रतिस्पर्धा गर्न नसकेको बताएका हुन् ।
उत्पादन लागत, वित्तीय लागत, उद्योगको क्षमता, प्रशासनिक खर्च तथा उद्योग दर्तादेखि बहिर्गमनको प्रक्रियामा तहगत समस्या हुँदा उद्योगमा अपेक्षाकृत लाभ हासिल हुन नसककेको सरोकारवालाको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति भरतराज आचार्यले देशमा उद्योग फस्टाउन नसक्नुको मुख्य कारण नै लागत न्यूनीकरण हुन नसक्नु रहेको बताए । “हामीले वर्षेनी उद्योग दिवस मनाउने, देशको समृद्धि उद्योगबाट छ भन्दै गर्दा यो क्षेत्र किन लगानीका लागि आकर्षणको केन्द्र बन्न सकेन भन्नेमा ध्यान जान सकेन,” उनले भने, “नीतिगतदेखि व्यावहारिक, प्रक्रियागत धेरै झन्झटहरु छन् । त्यसको न्यूनीकरण गर्दै उत्पादन लागत घटाउन सकिएमात्रै देशमा उद्योग बढ्न सक्छन् ।” जापान, चीन, भारतसँगै औद्योगिक विकास सुरु भएको मुलुकको आजको अवस्था निकै दुखद् भएको भन्दै उनले यसमा गम्भिर समीक्षा जरुरी भएको बताए । उनले भने, “कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान वर्षेनी घट्दै गएको छ । नेपालको उत्पादन क्षमता पाकिस्तान पछाडि दक्षिण एसियामै अत्यन्त कमजोर रहेको छ ।”
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक विकासमा सरकारको तर्फबाट पूर्ण सहयोग रहेको भन्दै यस क्षेत्रको विकास र सम्बन्धित नीति निर्माण गर्दा निजी क्षेत्रसँग सहकार्य हुने बताए । ‘नो योर बिजनेस’ व्यवसायीले जान्नैपर्ने बताउँदै उनले औद्योगिक लागत कम गर्न सरकारले औद्योगिक पूर्वाधारहरु निर्माण गरेको बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले मुलुकमा औद्योगिक विकास गर्न उद्योग सञ्चालनको वातावरण सहज बनाउनुपर्नेमा जोड दिए । पैसा र नयाँ सोच भएका मानिसलाई सजिलोसँग उद्योगमा आउन र उद्योगबाट बाहिरिन दिनुपर्नेमा उनको जोड थियो । उत्पादनमा सघाउ पु¥याउने आयातलाई निरुत्साहित गर्न नहुने भन्दै उपाध्यक्ष पौडेलले उद्योगको कच्चा पदार्थ उपलब्धता र स्वदेशी कच्चा पदार्थ प्रयोगको उद्योग फैलने वातावरण बनाउनुपर्ने बताए ।
कार्यक्रममा अर्थसचिव मधुकमार मरासिनीले अर्थतन्त्रको उदारीकरण सुरु भएपछि पनि नेपाली उद्योगले आशा गरिए बमोजिम प्रगति गर्न नसकेको बताए । उद्योग र उत्पादनमा लाग्नेहरु व्यापारतर्फ लाग्दा काम गर्ने भन्दा पनि किनेर खाने प्रवृत्ति हाबी भएको सचिव मरासिनीको अनुभव छ । औद्योगिक वातावरण निर्माण गर्न सरकारले सेज, औद्योगिक क्षेत्र, औद्योगिक ग्राममा लगानी बढाए पनि लगानी अनुसारको उपलब्धि नभएकोमा भने उनी सहमत छन् । निजी क्षेत्र व्यापार भन्दा पनि उद्योग र उत्पादनमा लाग्नुपर्ने भन्दै उनले औद्योगिक वातावरण र लगानी सहजीकरणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले उद्योग सञ्चालनको वातावरणमा केही सुधार भए पनि प्रक्रियागत झन्झट बाँकी रहेको बताए । अन्तर निकाय सहजीकरण र लगानीकर्तालाई हेर्न नजर बदल्नुपर्ने भन्दै भट्टले आधारभूत पूर्वाधार विकासमा अझै समस्या रहेको औंल्याए ।
सरकारले नीतिगत रूपमा औद्योगिक विकासलाई तीव्रता दिने, औद्योगीकरणको माध्यमबाट रोजगारी सिर्जना गर्ने र आत्मानिर्भर अर्थतन्त्रको प्रवद्र्धन गरी जनताको जीवनस्तर उकास्ने आधार तयार गर्ने बताएको छ । नेपालमा वि.सं १९९३ मा उद्योग परिषद्को स्थापना भएपछि औपचारिक रूपमा औद्योगिक विकासको सुरुवात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्