गाउँमै सदरमुकामको सेवा पाएपछि स्थानीय खुसी

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका स्थानीय बासिन्दाले गाउँमै सिंहदरबार आएको महसुस गरेका छन् । एक साता अगाडि धनचौरको घुम्ती शिविरपछि पुनः भूमिकास्थान–३ धारापानीमा जिल्ला प्रशासनसहित सरकारी कार्यालयहरू गाउँघरमै पुगेका छन् । सदरमुकाम आउन जान एक हजार खर्च लाग्ने धारापानीकी ६२ वर्षीय मुमकला खनालले घुम्ती शिविरमा नागरिकताको प्रतिलिपि निकालिन् । उनको नागरिकता च्यातिएको थियो, उनी जिल्ला प्रशासन सन्धिखर्क जान गएकी पनि थिइनन् । नागरिकताको प्रतिलिपि पाएपछि उनी खुसी भइन् ।
भूमिकास्थान नगरपालिकाले माघबाट सुरु गरेको ज्येष्ठ नागरिक परिचयपत्र चुराबहादुर खत्रीले घर आँगनमै पाए । ३० मिनेट हिँडेर आएका खत्रीले ६४ नम्बरमा परिचयपत्र पाउँदा खुसी हुँदै भने, “घरको खाना खाएर, गाउँमै परिचयपत्र पाएँ ।”
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. जगन्नाथ तिवारीले ३५१ जनाको स्वास्थ्य परीक्षण गरे । उनको नेतृत्वमा १५ जनाको टिमले स्वास्थ्य निःशुल्क परीक्षण र निःशुल्क औषधिसमेत वितरण गरेको थियो । औषधि लिन र स्वास्थ्य चेक गराउन स्थानीय बासिन्दाको दिनभर भीड्भाड् रह्यो । ८४ वर्षीय लालबहादुर सुनारले स्वास्थ्य परीक्षण गराए । उनलाई बीपी बढी देखियो, डाक्टरको सल्लाहअनुसार निःशुल्क औषधि पाउँदा खुसी देखिए ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले गाउँघरमै गएर जनतालाई सेवा दिएको छ । भूमिकास्थान नगरपालिकाको समन्वयमा भएको घुम्ती शिविरमा जिल्लाका १० वटा सरकारी कार्यालयले गाउँबाटै सेवा दिएका छन् । जसमा जिल्ला प्रशासनले दिने सेवामा २०० जनाभन्दा बढीले नागरिकता गाउँबाटै प्राप्त गरको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु बेल्वासेले जानकारी दिए ।
जिल्ला प्रशासनले जनतालाई सहज होस् भनी प्रत्येक वर्ष घुम्ती शिविर सञ्चालन गर्ने गरेको छ । शिविरमा २०० वटा नागरिकता वितरण, ३०१ जनाको स्वास्थ्य परीक्षण, ३५१ जनाले जिल्ला आयुर्वेद कार्यालयमार्फत स्वास्थ्य परीक्षण, ५१ वटा सिमकार्ड वितरण, कृषि ज्ञान केन्द्रले २०० कृषकको माटो परीक्षण, ३ उद्योग दर्ता, निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउने, जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रमअन्तर्गत लागू औषध, मदिरा सेवन, लैंगिक हिंसा, जबरजस्ती करणी, सामाजिक तथा साइबर अपराध एवं सवारी दुर्घटनासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
शिविरबाट ९०० जना सेवाग्राहीले लाभ लिएका छन् । जिल्लाको ग्रामीण क्षेत्र ढाकावांग र धारापानीका गरी २६ पसलको अनुगमन पनि गरिएको छ । अनुगमनबाट स्थानीयलाई सुझाव र सल्लाहसमेत दिइएको छ । नगरप्रमुख रेशम थापाले भूमिकास्थानले सबै जनतालाई सहज भन्ने उद्देश्यले गाउँगाउँमा पुगेर जनतालाई सेवा दिएको बताए ।
जिल्ला प्रशासन कार्यालय अनुगमन समितिका संयोजक जीवनारायण कोइरालाले भने, “२८ पसलको अनुगमन ग¥यौं, दर्ता नभएकालाई दर्ता गर्न, पसलको मूल्य सूची र बोर्ड राख्न निर्देशन दिएका छौँ । अनुगमनमा मदिरा, सूर्ति, तराजु ३ थान, भुजा, चाउचाउ, कोल्ड ड्रिक्स, पाउरोटीलगायतका सामग्री जफत गरिएको छ,” आचार्यले भने ।