महिलालाई आत्मनिर्भर बनाउन पूर्वमन्त्री ज्ञवालीको जोड

पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिक सहभागितामा मात्रै सीमित हुने बताएका छन् ।
राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रीत भइरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महिला सहभागीतालाई अर्थपूर्ण बनाउन महिला स्वयम्लाई आर्थिक आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका हुन् । राजनीतिक दलको पदाधिकारी र निर्णायक तहमा महिला सहभागीताका विषयमा संञ्चारिका समुहले विहिबार काठमाडांैमा गरेको कार्यक्रममा उनले संविधान र राजनीतिक दल सम्बन्धी ऐनमा गरिएको व्यवस्थालाई कार्यान्वयन गरेर महिला सहभागिताको कुरा गर्नु “कस्मेटिक सहभागीता” मात्रै हुने टिप्पणी गरे । उनले सास्कृतिक रुपान्तरण नभएसम्म महिला सहभागीता सारभूत हुन नसक्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले राजनीतिक मुल्य मान्यताबाट स्खलित हुदै गएकाले महिलाहरु राजनीतिक दलको निर्णायक तहमा आउने विषय चुनौतिपुर्ण बन्दै गएको बताए । महिला सहभागी गराउनकै लागि एउटै पदमा संख्या थप गर्ने अभ्यास पार्टीभित्र सुरु भएको उल्लेख गर्दै उनले संख्या थपेर महिला सहभागीता गराएको भन्न नमिल्ने तर्क गरे । नेता पाण्डेले पदाधिकारी र अन्य निर्णयक तहमा महिला सहभागीता वृद्धिका लागि निरन्तर अभिमुखिकरण गर्नु आवश्यक रहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आसन्न महाधिवेशले पदाधिकारीमा महासचिव र उपाध्यमा महिला निर्वाचित गर्ने दाबी गरे । नेकपा माओवादी केन्द्रका सांसद अमृता थापाले कानुनमा नै बाध्यकारी बनाएको व्यवस्था बाहेक पदाधिकारी र निर्णायक तहसम्मको सहभागीताका लागि सबैसंग छलफल, बहस,सहकार्य र समन्वय आवश्यक रहेको बताइन् ।