Logo

कर्णाली प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्किन अदालतको आदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारीलाई ततत्काल काममा फर्किन अदालतले आदेश दिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई एकाएका कामकाज रोक्न लगाउने निर्णय गरेका थिए ।
तर सोमबार उच्च अदालत पाटनले कर्णाली प्रतिष्ठानका पदाधिकारीलाई काममा रोक लगाउने गरी गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश भोजराज अधिकारीले मन्त्री खतिवडाको निर्णयलाई बदर गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न तथा पदाधिकारीलाई कामकाजमा फर्किन अन्तरिम आदेश दिएका हुन् ।
स्वास्थ्यमन्त्रीको उक्त निर्णयविरुद्ध कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसहितका पदाधिकारीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । २३ कात्तिकमा प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री खतिवडाले कर्णालीको उपकुलपति नियुक्तिमा अदालतको अन्तरिम आदेश छलेर भएको भन्दै सो फैसला नहुन्जेल काम काज गर्न रोक लगाएका थिए । तर मन्त्रीको निर्णय अदालतले भने बदर गरेर पदाधिकारी काम गर्न बाटो खुला गरेको छ ।
उपकुलपतिको कार्यसम्पादन चित्त बुझ्दो नभए सिनेटका बहुमत सदस्यहरूको सिफारिसमा मात्रै काममा रोक लगाउन मिल्ने व्यवस्था छ ।
कर्णालीमा लामो समयदेखि स्वास्थ्य क्षेत्र सुधार तथा स्वास्थ्य सेवा विस्तारको काम गर्दै कोरोना महामारीमा समेत उदाहरणीय काम गरेका कर्णालीका बौद्धिक युवा व्यक्ति डा. रावललाई उपकुलपतिको काममा रोकावट गर्नु राजनीति इगोबाहेक अरु केही नभएको प्रतिष्ठानका कर्मचारीहरू बताउँछन् । अदालतले न्याय र सत्यको पक्षमा फैसला गर्नेमा कर्णालीबासी आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्