साताभरमा २४ अंकले घट्यो नेप्से

अघिल्लो साता केही बढेको सेयर बजार परिसूच (नेप्से) गएको साता २४ अंकले ओरालो लागेको छ । यसलाई होटल, वाणिज्य बैंक, विकास बैंक, वित्त उत्पादनमूलक र लघुवित्त समूहले साथ दिएको छ । सूचीकृत कुनै पनि समूह बढेका छैनन् । यसले आगामी दिनमा सेयर बजार अझै ओरालो लाग्न सक्ने देखिन्छ । कुनै पनि परिसूचक उकालो नलाग्नुको अर्थ आगामी साता पनि सेयर बजार ओरालो लाग्नु नै हो । त्यसबाहेक बैंकिङ ब्याजदर, राजनीतिक परिवर्तनजस्ता कुराले पनि सेयर बजारमा असर पर्नसक्छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १२७२८ कारोबारबाट एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३५.९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १७३९३ कारोबारबाट एक अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरका ४१ लाख पाँच हजार दुई सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४.५८ अंकले घटेर अन्तिम दिन १४०६.५२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.३४ अंकले घटेर २९६.८६ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (१९ करोड आठ लाख १० हजार रुपैयाँ) को आधारमा सानिमा माई हाईड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ४७ हजार कित्ता) र कारोबार संख्या (११८४ वटा) को आधारमा पनि सानिमा माई हाईड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।