Logo

जुम्लामा हवाईजहाजको टिकट पाउनै मुस्किल


सरकारी जहाज (नेपाल एयरलाइन्सले) जुम्लामा नियमित उडान भर्न थाले पनि हवाई टिकट पाउन मुस्किल छ । निजी एयरलाइन्सको टिकट वितरणमा पहुँचवालाकै रजाइँ भएको, सर्वसाधारणले सास्ती पाएको भन्ने गुनासो बढेपछि कर्णालीमा नेपाल एयरलाइन्सको नियमित उडान गर्ने निर्णय भयो ।
विभिन्न बहाना र कारण देखाउँदै कर्णाली क्षेत्रमा उडान नगरेको नेपाल एयरलाइन्सले गएको कात्तिक १५ गतेदेखि जुम्लालगायत कर्णालीका दुर्गम जिल्लामा नियमित चार उडान सुरु गरेको छ । सरकारी जहाजले नियमति उडान गरेपछि निजी एयरलाइन्सको चर्को भाडा र मनपरिले आजित भएका सर्वसाधारण उत्साहित थिए । तर नेपाल एयरलाइन्सको नियमित उडान भए पनि सर्वसाधारणले सहजै टिकट पाउन सकेका छैनन् ।
गुठिचौरका स्थानीय धर्मेन्द्र महतारा भन्छन्, “टिकट वितरण सहज गर्न लाइन सिस्टम गरियो । सरकारी जहाजले नियमित उडान पनि ग¥यो । तर टिकट पाउन सास्ती उस्तै छ । टिकटका लागि रातभरि जाग्राम बस्न बाध्य छौं । ईटिकटको व्यवस्था नभएसम्म जुम्लामा हवाइ समस्या समाधान सम्भव छैन ।”
कात्तिकको कठयांग्रिँदो चिसोमा रातभर जाग्राम बसे पनि हवाइ टिकट नपाएको महताराको भनाइ छ । जति निर्णय तथा सरकारी नीति विमान उडाए पनि पहुँचवालालाई फोनकै भरमा टिकट र सर्वसाधारणलाई सास्ती नछुटेको स्थानीयको गुनासो छ ।
जुम्लामा गएको कात्तिक १५, १८, २१ र २२ गते नेपाल एयरलाइन्सले नियमित उडान भरेको स्टेसन इन्चार्ज देवीचन्द्र न्यौपानेले बताए । उनका अनुुसार सरकारी जहाज आउन थालेपछि विमानस्थलमा चाप पनि कम भएको छ । लाइनकै आधारमा टिकट दिँदा पछि आउनेले १÷२ पर्खिन परेको उनको भनाइ छ । सरकारी जहाजको उडानले कर्णालीमा हवाई सेवा सहज हुने अपेक्षा गरिएको छ ।
साथै, मुगुको ताल्चा विमानस्थलमा करिब १९ महिनापछि कात्तिक १४ गतेबाट सरकारी एयरलाइन्सले उडान भरेको छ । अहिले हप्तामा दुई उडान भरिरहेका छन् । तर सर्वसाधारणलाई भने टिकट पाउन उत्तिकै समस्या रहेको सञ्चारकर्मी नन्द रोकायाले बताए । ताल्चा विमानस्थलमा यात्रु चाप वृद्धि भइरहेको अवस्थामा निगमको जहाजले उडान सुचारु गर्दा सहज हुने अपेक्षा गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
डोल्पामा हवाई टिकट नपाउँदा विद्यार्थीहरू परीक्षा छुट्ने चिन्तामा रहेको सञ्चारकर्मी नरजङ तामाङले बताए । उनका अनुसार तिहारपछि फर्किनेको भीड भएपछि पहुँचवालाले मात्रै टिकट पाएका छन् । तर सर्वसाधारण विद्यार्थीलाई भने टिकट पाउनै मुस्किल भएको उनको भनाइ छ ।
कर्णालीको हवाई यातायातमा राज्यको उपस्थिति नियमित छैन । दुईदिन उडान गर्ने बन्द गर्ने प्रवृत्ति छ । अब नियमित गरेर कर्णालीवासीलाई सरकारी जहाजले सेवा दिनुपर्ने नागरिक अगुवाको माग छ । अहिले कर्णालीको हुम्ला, जुम्ला र ताल्चा विमानस्थलमा सरकारी जहाजले हप्तामा ६ उडान भर्दै आइराखेको छ । जुम्लामा हप्तामा तीन, ताल्चामा हप्तामा दुई र हुम्लामा एक उडान भरिरहेको नेपाल एयरलाइन्स नेपालगन्ज स्टेसन प्रमुख यमराज सिंहले जानकारी दिए । तर निजी र सरकारी एयरलाइन्सको उडान भए पनि सहजै टिकट नभएको यात्रुको गुनासो छ ।
कर्णालीकै सबैभन्दा व्यस्त जुम्ला विमानस्थल जुम्लामा सहज टिकट वितरण प्रणाली लागू गर्न पकटपटक छलफल बहस भए पनि पहुँचवालाकै हालिमुहाली छ । टिकट वितरणलाई पारदर्शी बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । हवाईजहाज कहिले बिग्रिने, कहिले मौसम प्रतिकूल त, कहिले ग्राउण्डेड भएको बहाना बनाएर कर्णालीमा सरकारी जहाज नियमित हुन सकेको छैन । नियमित उडान भए पनि सर्वसाधारणलाई सास्ती उस्तै छ । नियमित उडान, पारदर्शी टिकट वितरण गर्न सरकारीस्तरबाटै ठोस निर्णय गर्न आवश्यक रहेको नागरिक अगुवा राजबहादुर महतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्