बाँझो जमिनमा आलु खेती गर्दै युवा किसान «

बाँझो जमिनमा आलु खेती गर्दै युवा किसान

डडेल्धुरा-डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का युवा किसान अहिले मल्चिङ प्रविधिबाट आलु खेती गर्न थालेका छन् । ८० रोपनी बाँझो जमिनमा पाँच जना युवा मिलेर सामुहिक आलु खेती गर्न थालेका हुन् ।
सुदूरपश्चिम प्रदेशमै पहिलोपटक डडेल्धुरामा मल्चिङ प्रविधिबाट आलु उत्पादन गर्न थालिएको हो । डडेल्धुरा अमरगढी नगरपालिका–१ ठूलीखाल गाउँमा स्थानीय युवाले फर्म दर्ता गरी मल्चिङ प्रविधिबाट सामूहिक आलु उत्पादनमा लागेका हुन् ।
एक सिजनमा करिव ६ सय क्वीन्टल आलु उत्पादन गरी सजिलै बजारीकरण गर्ने युवा कृषक दत्तराज अवस्थीले बताए । बाँझो जमिनमा लगाएको आलु देख्दा अन्य किसान चकित परेको उनको भनाइ छ । मौसमले साथ दिएपछि अर्को सिजनमा करिव १२ देखि १४ क्वीन्टल आलू उत्पादन गर्ने उनले बताए ।
डडेल्धुराबाट कामको सिलसिलामा भारत जानेको संख्या कम हुँदै गएको छ । बाँझो जमिनलाई कसरी सदपयोग गर्ने भन्ने उद्देश्यका साथ जिल्लाको गन्यापधुरा गाउँपालिकाका पाँच जना युवाले सहकारीमार्फत करिव ८० रोपनी जमिन भाडामा लिई मल्चिङ प्रविधिबाट कार्डिनल र डिजिरे जातको आलुको मूल बीउ उत्पादन गर्न थालेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण आलु सुपरजोन कार्यक्रमबाट आर्थिक सहयोग र निजी लगानीमा यहाँका युवाले गुणस्तरीय प्रविधिबाट जिल्लामै आलुको मूल बीउ उत्पादन गर्न लागेका हुन् ।
मल्चिङ प्रविधिबाट आलु खेती गर्दा झारपात पनि भित्रै कुहिने भएकाले आलुलाई आवश्यकपर्ने खाद्य तत्व सहजै पाउँदा आलु गुणस्तरीय हुने भएकाले आफूहरूले मल्चिङ प्रविधिबाट आलुको बीउ उत्पादन गर्न थालेको युवा किसान सीताराम जोशीले बताए ।
२२ वर्षसम्म बाँझो रहेको जमिनलाई भाडामा लिई आलु उत्पादन गर्न थालेपछि गाउँका अन्य किसान पनि आकर्षित हुन थालेका छन् । आलु उत्पादन गर्ने किसानको संख्या बढ्दै गएको भए पनि आलुको मुल बीउ डडेल्धुरामा उत्पादन नहुँदा बर्सेनि लाखौंको बीउ आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्