१२औं राष्ट्रिय जनगणना आजदेखि «

१२औं राष्ट्रिय जनगणना आजदेखि

A view of Central Bureau of Statistics (CBS), in Kathmandu on Saturday, September 29, 2018. Photo: Sandeep Sen/ THT Online


बिहीबारदेखि सुरु हुने १२औं राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना आज (बिहीबार)देखि सुरु हुँदैछ । जनगणनाको सम्पूर्ण तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाका लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताए । जनगणना २५ कात्तिकदेखि मंसिर ९ गतेसम्म १५ दिनको अवधि हुने उनले बताए । जनगणना सञ्चालन गर्नका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उनले जानकारी दिए ।
काठमाडौं जिल्लामा भने पाँचवटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसंख्या भएका जिल्लाहरू मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलालीलगायतका जिल्लामा भने २-२ वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताए । जनगणनाका लागि देशभर ४० हजार गणक र आठ हजार ५०० सुपरिवेक्षक परिचालन हुने उनले बताए ।
तथ्यांक विभागका महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रूपमा आवतजावत गर्न दिएमा भौतिक रूपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवतजावत गर्न नदिएमा अन्य स्रोतको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताए ।
उनले भने, “भारतीय सरकारबाट सहज आवतजावत दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी फिजिकली गएर त्यहाँ जनगणना गर्छौं । कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन । कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको इन्फरमेसन हामीले अरु स्रोतबाट र त्यहाँसँग सम्बन्धित अरु व्यक्तिबाट या नजिक हाम्रो एक्सेस भएको ठाउँबाट लिँदाखेरि लगभग सात सयदेखि आठ सयसम्मको हाराहारीमा जनसंख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौँ । अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटेलाइटहरु प्रयोग गरिकन ती क्षेत्रमा कति घर छ भन्ने त सजिलैसँग काउन्ट गर्न सक्छौं । एउटा घरमा एभरेज परिवार कति बस्दो रहेछ भन्ने विवरण लिन पनि हामीलाई गाह्रो हुँदैन । यसरी त्यहाँको केही अनुमान हामी निकाल्न सक्छौं । त्यो अनुमानसहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौं ।”

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले संघीयता कार्यान्वयन पछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्व रहेको बताए । सबै तहमा चाहिने खण्डिकृत विवरण जनगणनाबाट आउने बताए । आगामी दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जगणना माउ ग्रन्थको रुपमा रहने उनले बताए । उनले भने, “सबै तहमा चाहिने खण्डिकृत डेटाहरू जो उत्पादन गर्नुपर्ने हुन्छ, विकासका योजनाहरू तर्जुमा गर्न, बजेट बनाउन, त्यो सबैलाई सहयोग गर्ने एउटा माउ ग्रन्थ जस्तैको रूपमा अहिलेको जनगणनालाई लिएका छौं । यो धेरै महत्वपूर्ण छ । यसले उत्पादन गर्ने डेटाले हाम्रो देशको सामाजिक, आर्थिक रूपान्तरणका लागि दुरगामी प्रभाव पार्छ ।”
काठमाडौं महानगरपालिकासहित काठमाडौंका ६ वटा नगरपालिकामा डिजिटल पद्धतिमा आधारित क्यापि विधि प्रयोग गरी ट्याबलेटबाट विवरण संकलन गरिने तथ्यांक विभागले जनाएको छ । साथै विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा ई–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको जनगणना संकलन गरिने छ । यस पटकको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्