पीडितलाई एक लाख बढी राहत दिने गरी निर्देशिका संशोधन «

पीडितलाई एक लाख बढी राहत दिने गरी निर्देशिका संशोधन

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले पीडितलाई एक लाख रुपैयाँ राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका संशोधन गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद्मा ज्यान गुमाएका परिवारलाई एक लाख रकम राहत सहयोग दिने गरी निर्देशिका संशोधन गरेको हो । विपदमा ज्यान गुमाएका परिवारलाई एक लाख राहत, २० हजार काजक्रिया खर्च र घर पूर्णरूपमा क्षति भएका परिवारलाई ५० हजार राहत उपलब्ध गराइने गरी निर्देशिका संशोधन गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन् । “यसअघि पीडित परिवारले राहत नै पाउने र पाए पनि एकदमै थोरै पाउने व्यवस्था थियो,” प्रवक्ता जोशीले भनिन्, “राहत दोहोरो नपर्ने गरी एक लाख वा सोभन्दा बढी उपलब्ध गराउने गरी निर्देशिका संशोधन भएको छ ।”
यसले गर्दा प्राकृतिक प्रकोप प्रभावितले संघबाट मात्रै राहत पाउने अवस्था हटेको मन्त्री जोशीले बताइन् । “प्रदेश सरकार भएर पनि नभएको जस्तो मानिसलाई आभाष भएको थियो,” उनले भनिन्, “निर्देशिका संशोधनबाट प्रदेश सरकार उपस्थिति जनतालाई महसुस हुनेछ । सरकारले जनतालाई राहत दिनुपर्छ भनेर संशोधन गरिएको हो ।”
यस्तै, मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालय मातहत सञ्चालन रहेका अस्थायी कार्यालयको अवधि थप गरेको छ । मन्त्रालयको मातहात रहेको सामाजिक विकास कार्यालयको म्याद एक वर्षको थियो । “यसको अवधि एक वर्षको मात्र राखिएको थियो,” उनले भनिन्, “नौवटै जिल्लामा रहेको ती कार्यालयको निरन्तरतासँंगै संगठन संरचना र दरबन्दीको व्यवस्था गरिएको छ ।”
त्यस्तै व्यावसायिक सीप विकास तालिम केन्द्रको संगठन संरचना र दरबन्दीको व्यवस्था गर्ने निर्णय पनि भएको मन्त्री जोशीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्