लगानी प्रस्ताव बढ्नु सकारात्मक संकेत «

लगानी प्रस्ताव बढ्नु सकारात्मक संकेत

गत दुई आर्थिक वर्षमा कोरोना कहरका कारण स्वदेशी तथा विदेशी लगानीमा सुस्तता आउनु स्वाभाविक थियो । विश्व नै कोरोनाका कारण आक्रान्त भएको र लगानीकर्ताहरू ‘पर्ख र हेर’को स्थितिमा रहेका थिए । सरकारको ध्यान पनि जीवनरक्षामा नै केन्द्रित थियो । विश्वभर सबै जना कोरोनाको खोपको प्रतीक्षामा रहेका थिए ।
तर, कोरोनाको खोपको सहज उपलब्धतासँगै विश्वमा नै जीवन सुरक्षाको प्रश्न बिस्तारै प्राथमिकतमा पर्न छाडेको छ । अब सबैको ध्यान लगानी बढाएर रोजगारी सिर्जना गर्नमा देखिन्छ । किनकि कोरोनाका कारण जीवनका साथै जीविका पनि असुरक्षित बनेको थियो । जीवनको सुरक्षाको सम्भावना बढ्न थालेपछि सबैको ध्यान जीविकाको सुरक्षामा लागेको छ । त्यसै क्रममा स्वदेश तथा विदेशमा लगानीकर्ताहरू पनि बिस्तारै लगानीका अवसरहरूतर्फ ध्यान दिन थालेका छन् ।
यसै क्रममा चालू आर्थिक वर्षमा उद्योग दर्ता उत्साहजनक देखिएको छ । हुन त उद्योग दर्ता हुनु र उद्योग सञ्चालनमा आउनुमा फरक छ । तर पनि उद्योग दर्ता हुने क्रम बढ्नु कोरोना कहरबाट बिस्तारै सहजतातर्फ जान थालेको संकेत भने हो । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ को पहिलो तीन महिनामा स्वदेशी र विदेशी लगानीका गरी कुल १ खर्ब ४४ अर्ब रुपैयाँबराबरको लगानीका प्रतिबद्धतासहितका उद्योग दर्ता भएका छन् ।
विभागले साउनदेखि असोज मसान्तसम्म स्वदेशी लगानीका ८७ उद्योग दर्ता भएको र ती उद्योगले १ खर्ब २२ अर्ब लगानी प्रस्ताव गरेको जनाएको छ भने तीन महिनामा दर्ता भएका प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का १ सय ७ उद्योगले पनि २४ अर्ब लगानी प्रस्ताव गरेको जनाएको छ । यसैगरी स्वदेशी लगानीका ८७ उद्योगबाट ८ हजार १ सय ३४ रोजगारी सिर्जना हुने लक्ष्य छ भने १ सय ७ वटा वैदेशिक लगानीका परियोजनाबाट ७ हजार १ सय ९५ रोजगारी सिर्जना हुने देखिन्छ ।
कोरोना कहरका कारण भएका रोजगारी पनि संकटमा परेको तथा नयाँ रोजगारी सिर्जना नभएको अवस्थामा नयाँ रोजगारी सिर्जना हुने खबर पक्कै सकारात्मक हो । संख्याका आधारमा गत आर्थिक वर्षकै हाराहारीमा भए पनि लगानी प्रतिबद्धता भने गत आवभन्दा चालू आवको तीन महिनामा उच्च हुनु पनि अर्को सकारात्मक समाचार हो । गत आवको पहिलो त्रैमासमा उद्योग विभागमा जम्मा ८१ वटा उद्योग दर्ता भएका थिए । यी उद्योगमा ५७ अर्ब ६१ करोड लगानी प्रतिबद्धता प्राप्त भएको थियो र ती उद्योगले कुल ४ हजार ९ सय ७९ जनालाई रोजगारी दिने लक्ष्य राखेका थिए ।
लगानी प्रतिबद्धताका हिसाबले चालू आवको तीन महिनामा गत आवको कुल लगानी प्रतिबद्धताभन्दा बढी प्रस्ताव आएको विभागको तथ्यांकले देखाउँछ । किनकि गत आव २०७७/०७८ मा कुल १ खर्ब ५६ अर्ब प्रतिबद्धता प्राप्त भएकोमा चालू आवको तीन महिनामै सो हाराहारीमा लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
गत आवमा जम्मा २ सय ३ उद्योग दर्ता भएका थिए, जसले ११ हजार ८ सय ३३ रोजगारी सिर्जनाको लक्ष्य राखेका थिए भने आव २०७६/०७७ मा २ सय ७७ उद्योग दर्ता भई १ खर्ब ५२ अर्ब लगानी प्रतिबद्धता र यसमार्फत १० हजार ८ सय ३९ रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको थियो । यसरी हेर्दा परियोजना संख्या, लगानी र रोजगारी सिर्जनाका हिसाबले चालू आवको सुरुवातको त्रैमास नै उत्साहजनक देखिएको छ ।
तर, लगानी प्रतिबद्धता भएअनुरूप प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान सरकार तथा लगानीकर्ता दुवैको तदारुकता आवश्यक छ । लगानी प्रतिबद्धताले सकारात्मक सन्देश दिए तापनि लगानीकर्ताहरूलाई सहजीकरण गरी प्रतिबद्धताको सफल कार्यान्वयनमा सरकार चुकेको धेरै वर्ष भएको छ ।
पछिल्लो समय नीतिगत र प्रक्रियागत सुधारसँगै उद्योगमा लगानी गर्ने क्रम बढेको भए तापनि लगानीको वातावरण बनाउन लगानीसँग सम्बन्धित औद्योगिक व्यवसाय ऐन, औद्योगिक व्यवसाय नियमावली, सार्वजनिक निजी साझेदारी नियमावली, लगानी बोर्डसँग सम्बन्धित नियमावली र कानुनहरू समय सान्दर्भिक बनाई सरकारी निकायहरूले पनि सहजीकरणमा ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्