महिला उद्यमीका अनुभव आदानप्रदान «

महिला उद्यमीका अनुभव आदानप्रदान


वीरगन्जमा सम्पन्न एकदिने युवा महिला उद्यमी सम्मेलनले महिला युवा उद्यमीहरु उत्साहित भएका छन् ।
वीरगन्ज पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसर लगायत विविध पक्षमा बेग्लाबेग्लै सत्रमा छलफल भएका थिए ।
छलफलबाट सहभागीहरुले धेरै विषयमा जानकारी प्राप्त गरेको र यसले महिला उद्यमीहरुलाई हौसला बढ्ने अपेक्षा गरिएको आयोजक नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष अनुप अग्रवालले बताए । कार्यक्रमको उदघाटन गर्दै प्रदेश २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्माले महिला उद्यमीलाई प्रोत्साहन गर्नु राज्यको दायित्व भएको बताए ।
युवा महिला उद्यमी सम्मेलनको उदघाटन गर्दै मन्त्री शर्माले प्रदेश–२ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ को नाममा साइकल बाँड्न करोडौं खर्च गरेपनि महिला उद्यमीका लागि भने रकम नै नछुट्याएको बताउदै अब त्यस्तो हुन नदिने प्रतिवद्धता जनाए ।
हरेक सार्वजनिक मञ्चमा प्रदेश–२ मा वैकल्पिक उर्जालाई प्राथामिकतामा राखेको बताउने गरेका मन्त्री शर्माले सबै विद्यालय र मिडिया हाउसलाई निःशुल्क सोलार जडान गर्ने आफ्नो सोच रहेकोमा महिला उद्यमीहरुले पनि वैकल्पिक उर्जाबाट उद्यम सञ्चालन गर्ने सोलार जडान गर्न विशेष सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले नीति निर्माताहरुले महिला उद्यमशीलताको महत्व बुझ्नुपर्ने बताए । उद्यमी भइसकेका महिलालाई प्रोत्साहन गर्न र उद्यमी बन्न चाहानेलाई उत्प्रेरित गर्न सम्मेलनको आयोजना गरिएको युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले बताए ।
उद्यममा महिला सभागिता नबढी मुलुकको विकास संभव नभएको बताउँदै उनले स–साना सोचलाई कार्यान्वयनमा ल्याएर महिला उद्यमी बनेको थुप्रै उदाहरण समाजमा रहेकोले त्यसबाट पाठ सिक्नुपर्ने बताए ।
कार्यक्रमको एउटा सत्रमा ‘सी ईकोनोमी’ का बारेमा आयोजित छलफलमा लक्ष्मी बैंकको मझौला तथा साना उद्यमी व्यवस्थापक अर्चना थापा, घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख रिमा साह, अन्तरप्रेरणाका निर्देशक निरज खनाल, सानो पाइलाका संस्थापक कञ्चन झा, र वीरगञ्ज पब्लिक कलेजका कार्यकारी निर्देशक प्राध्यापक डा. दिपक शाक्यले उद्यमशीलताको बारेमा चर्चा गरेका थिए ।
सम्मेलनमा विभिन्न महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रहरु पनि प्रदर्शनीमा राखिएको थियो । सम्मेलन निकै उपयोगी र उद्यमक्षेत्रमा आउन चाहने नयाँ उद्यमीहरुलाई फलदायी भएको आयोजक समितिकी संयोजक मनिषा सुनुवार श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस्