Logo

जुम्लाका मार्सिफाँट डुबानमा, भित्राउनै लागेको धान र दर्जनौं काठेपुल बगे


अविरल वर्षाका कारण आएको बाढीले जुम्लाका अधिकांश मार्सी धान रोपेका खेत डुबानमा परेका छन् भने, जिल्लाभरका दर्जनौ काठेपुल बाढीले बगाउँदा आवतजावत ठप्प भएको छ ।
एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न मार्सिफाँट डुबानमा परेपछि भित्र्याउनै लागेको जुम्ली मार्सिधान नष्ट भएको हो । जसमा तातोपानी गाउँपालिका वडा नं.२ र ३ मा पर्ने लाछु ज्युलोका दुई सय बढी मार्सी रोपेका खेत डुबानमा परेको स्थानीय धनबहादुर बुढाले बताए ।
उनका अनुसार दुई वडाका करिब डेढ सय किसानका खेत डुबामा परेको छ । १/२ दिनमै मार्सिधान भित्र्याउने तयारी थियो । उनले भने, “पहिलो पटक कात्तिक महिनामा यति ठूलो बाढी आयो । मार्सीसँंगै वर्षभरिको मिहिनेत पनि बग्यो । भित्र्याउन लागेको धान नष्ट हुँदा किसानले ठूलो घाटा बेहोर्नु परेको छ ।”
प्रकृतिले पनि जुम्लालाई धोको दिएको भन्दै बर्सेनि हुने डुबानको समस्यालाई न्यूनीकरण गर्न स्थानीय तहले ठोस योजना बनाउनु पर्नेमा उनको जोड छ । त्यसका साथै तातोपानी–१ कै बाईराँका ज्युलोमा पनि डुबानमा परेको छ । करिब १५० मुरि खेतका धान बाढीले बगाएको छ ।
तातोपानी–४ गिडिखोलामा ३ वटा काठेपुल बगाउँदा आवतजावतमा समेत समस्या भएको स्थानीय जगदीश नेपालीले बताए । उनले भने, “काटेर खेतमै राखिएको एक सय भारी धान पनि बगाएको छ । गिडिखोलाबाट बग्ने नदीको बहाव बढेपछि तीनवटा काठेपुल बगेका छन् । काटेको धान बग्दा किसान चिन्तित छन् ।”
२ सय २० किलोवाट क्षमता बत्तीको बाँधसमेत बाढीले बगाएपछि विद्युत् अवरोध भएको नेपालीले जानकारी दिए । साथै, बाढीले चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका र सिंजा क्षेत्रका तीन स्थानीय तहमा कतै काटेका धान बगाएको छ भने कतै काट्ने तयारीमै रहेको मार्सिफाँट डुबानमा परेका छन् ।
जुम्लामा पहिलो पटक कात्तिकमा आएको बाढीले मार्सिधानमा ठूलो क्षति पु¥याएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, “विगतको भन्दा मार्सी उत्पादन घट्ने निश्चित भएको छ । विश्व बजारमा माग बढ्दै गएकाले यस वर्ष मार्सी आपूर्तिमा समस्या हुने देखियो ।”
बाढीबाट प्रभावित किसानलाई स्थानिय तह, प्रदेश सरकार, विषयगत कार्यालयबाट राहत प्रदान गर्नका लागि पहल गर्नुपर्ने देवकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्