चन्दननाथ र भैरवनाथ मन्दिरका लिङ्गा फेरियो «

चन्दननाथ र भैरवनाथ मन्दिरका लिङ्गा फेरियो

जुम्ला-कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरका पुराना लिङ्गा फेरिएको छ । घटस्थापनाका दिन नयाँ लिङ्गा हाल्ने पुराना हटाउने परम्पराअनुसार बिहीबार चन्दननाथ भैरवनाथ मन्दिरका लिङ्गा फेरिएको हो ।
असोज १८ गते चन्दननाथ–३ को जंगलबाट ल्याइएको र बिहीबार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा सयौं भक्तजनको सहभागितामा लिङ्गा खडा गरिएको चन्दननाथ भैरवनाथ गुठीले जनाएको छ । चन्दननाथ मन्दिरको लिङ्गामा ५२ हाते लिङ्गा र ५२ हाते ध्वजा राखिएको छ भने, भैरवनाथ मन्दिरको लिङ्गामा ४८ हातको लिङ्गा र ४८ हातकै ध्वजा राखिएको छ । साथै दुवै मन्दिरमा करिब ४२ हाले सहायक लिङ्गा खडा गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताए ।
चन्दननाथ भैरबनाथ मन्दिरमा नयाँ लिङ्गा फेरिसकेपछि मात्र जुम्लाका घरघरमा घटस्थापना गर्ने चलन छ । अध्यक्ष कठायतले भने, “मन्दिरकै माटो लिएर जमरा राख्ने चलन छ भने, १४९८ सालबाट यो मन्दिरमा लिङ्गा खडा गर्ने परम्परा रही आएको छ । मन्दिरमा विजयस्तम्भ सहित दुईवटा लिङ्गा खडा गरिएको हो ।”
चन्दननाथ भैरवनाथ मन्दिरका नयाँ लिङ्गा फेरिएसँंगै जुम्लामा विधिवत रुपमा दशैं सुरु भएको मानिन्छ । पछिल्लो समय भक्तजनहरूको संख्या भने घटेको देखिन्छ । सुरक्षाकर्मीकै भरमा लिङ्गा काटेर ल्याउनेदेखि ठडयाउनेसम्म हुने गरेको छ ।
त्यस्तै घटस्थापनाकै दिन उत्पादन वृद्धि होस्, भोकमरी नआयोस् भन्ने कामनासहित चन्दननाथ भैरवनाथ मन्दिरमा मार्सीधानको (सिक) चडाउने समेत परम्परा रहेको जुम्लाका संस्कृतिविद रमानन्द आर्चायले बताए ।
शताब्दी पहिले नै चन्दननाथ बाबाले कास्मिरबाट मार्सीधानको बीउ ल्याएका थिए । त्यसपश्चात जुम्लाकै तातोपानी–२ मा पर्ने गुरु फोक्टो नामक खेतमा महापुरुष लछालकृत्ति पैकेलाले पहिलोटपकट मार्सीखेती सुरु भएको किंवदन्ती छ । जसका कारण जुम्ली किसानले आफू खानुभन्दा पहिले मार्सी चामलको सिक चन्दननाथ मन्दिरमा चढाउने गर्छन् ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले जुम्लाका बडिमालिका जानेदेखि घटस्थापनामा मन्दिरका लिङ्गा फेर्ने परम्परा संस्कृतिको आफ्नै विशेषता रहेको बताइन् । धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण जुम्लाको विकासमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिइन् । जुम्लामा आउँदा यहाँका विभिन्न सांस्कृतिक परम्परा देखेर खुसीसंँगै देवभूमिमा आएको महसुस भएको समेत प्रजिअ प्रसाईंले बताइन् । आफ्नो चिताएको पूरा हुने भन्दै मन्दिरमा करिब एक हजार बढी भक्तजनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्