अस्थायी राजधानी तोकिएकोमा निजी क्षेत्र हर्षित उद्योगी भन्छन्– अब यही लगानी गर्छौं «

अस्थायी राजधानी तोकिएकोमा निजी क्षेत्र हर्षित उद्योगी भन्छन्– अब यही लगानी गर्छौं

सरकारले औद्योगिक नगरी विराटनगरलाई अस्थायी राजधानी तोकेपछि विराटनगरको निजी क्षेत्र हर्षित भएको छ । केही दशकयता आर्थिक रुपमा खस्कँदै गएको विराटनगरलाई अस्थायी राजधानी बनाएर सरकारले न्याय गरेको यहाँका उद्योगी व्यवसायीले प्रतिक्रिया दिएका छन् ।
“यदि विराटनगरलाई राजधानी घोषणा नगरिएको थियो भने सबै उद्योगी व्यवसायी पलायन हुने थिए,” मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने, “अब विराटनगर पहिलाकै लयमा फर्किनेछ ।” अब अन्यत्र जाने सोच बनाएका उद्योगीले पनि यही लगानी गर्ने सारडाको दाबी छ । “अब जेसुकै होस् हामी यहीं लगानी गर्छौं,” उनले भने ।
राजनीतिको राजधानी काठमाडौं र आर्थिक राजधानी विराटनगरलाई हेरिने गरिएको थियो विगतमा । तर, लोडसेडिङ, मजदुर समस्या, बैंकको चर्को ब्याज, प्रतिस्पर्धात्मक क्षमतामा ह्रासलगायतका कारण यो क्षेत्रको उद्योग व्यवसाय खस्कँदै गएको थियो । पछिल्लो पटक सरकारले महानगरपालिका र अस्थायी राजधानी घोषणा गरेपछि विराटनगर बौरिएको उनको प्रतिक्रिया थियो । अब विराटनगरमा लगानीको ओहिरो लाग्ने उनले बताए । विराटनगरलाई राजधानी तोकिनुपर्ने माग गर्दै व्यापार संघ, उद्योग संगठनलगायतका संस्था सडकमै उत्रिएका थिए । “अस्थायी मात्रै होइन अब आउने प्रदेश सरकारले स्थायी राजधानी नै बनाउनुपर्छ विराटनगरलाई,” संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले भने ।
महानगरपालिकासहित संघ र संगठनले राजधानी घोषणालगत्तै सहरका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरे । महानगरपालिकाले तीन दिनसम्म आ–आफ्ना घरमा दीप प्रज्ज्वलन गर्न आग्रह गरेको छ । १ सय ४ वर्षे इतिहास कोरेको विराटनगरले राजनीतिमा मात्रै नभएर आर्थिक क्रान्तिमा समेत महत्वपूर्ण योगदान गरेको छ । ७ जना प्रधानमन्त्री र हरेक मन्त्रिपरिषद्मा पावरफूल मन्त्री पाउँदा पनि विराटनगरले भौतिक विकासले भने प्रगति नगरेको उनीहरूको गुनासो छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा र प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउतले पनि विराटनगरवासीको भावना सरकारले बुझेको जनाए । राउतले भने, “सरकारले अस्थायी राजधानी तोकेको छ अब आउने सरकारले स्थायी राजधानी नै बनाउनुपर्छ ।” विराटनगरले अब १ नम्बर प्रदेशका अन्य ठाउँको विकासमा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ ।
औद्योगिक विकासमा विराटनगर अब पहिलाकै लयमा फर्किने नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले बताए । कुनै समय जुट, धागो, सलाई, कपडालगायतका निर्यातमूलक उद्योग सञ्चालनमा थिए । “तर ती सबै उद्योग अहिले इतिहास भइसकेका छन्,” गोल्छाले भने, “अब पक्कै लगानीको वातावरण बन्छ र पहिलाकै अवस्थामा फर्किनेछ यो ठाउँ ।”
वि.सं. १९९३ सालमा विराटनगर जुट मिलको स्थापना भएसँगै नेपालमा आधुनिक औद्योगिक क्रान्तिको सुरुवात भएको इतिहास छ । राजनीति र आर्थिक इतिहास बोकेको विराटनगरलाई प्रादेशिक राजधानी बनाएर सरकारले सम्मानसँगै न्याय गरेको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायको बुझाइ छ । १ नम्बर प्रदेशका मुख्य सहरहरू विराटनगर, इटहरी र धनकुटाका बासिन्दाले प्रादेशिक राजधानी माग गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्