Logo

कोसी करिडोर प्रसारणलाइनको पहिलो खण्ड पूरा

एक हजार मेगावाट विद्युत आदानप्रदानमा सहज

२२० केभी कोसी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको काम पूरा भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्र तार तान्ने कार्य पूरा भएको हो ।
नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकद्वारा धनकुटाको हिलेमा संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारणलाइन निर्माण पूरा भएको घोषणा गरिएको छ । करिडोरको पहिलो प्याकेजको सो प्रसारणलाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लि.सँग २५ फेब्रुअरी २०१६ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६ मा कार्यान्वयनमा आएको थियो । पहिलो प्याकेजको अनुमानित लागत ३ करोड ७३ लाख डलर (करिब ४ अर्ब) छ ।
अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारणलाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रवाह भएको छ ।
कोसी करिडोर प्रसारणलाइन आयोजना मार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब १००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब १००० मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब २००० मेगावाट विद्युत प्रसारण गर्न सकिने आयोजनाले जनाएको छ ।
दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२०÷१३२÷३३ केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग ११ जुलाइ २०१८मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसनको निर्माण मार्च २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर (करिब २ अर्ब ९१ करोड) छ । तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु ३५ किलोमिटर प्रसारणलाइन निर्माणाधीन छ । १ सय ३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारणलाइनलाई १३२ केभीमा चार्ज गरिने छ ।
कार्यक्रममा एक्जिम बैंकका प्रतिनिधि विश्जजित गर्गले प्रसारणलाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए । ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारणलाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत ग्राहककोसम्म पु¥याउन पूर्वाधार तयार भएको बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारणलाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए । कोसी करिडोर र कावेली करिडोर प्रसारणलाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उनले आयोजनाअन्तर्गतका सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए ।
नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत व्यापार निर्देशिकाका बमोजिम नेपालले भारतबाट विद्युत खरिद गर्न मात्र नभएर बिक्री गर्न समेत पाउने बताइन् ।
धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले इच्छाशक्ति भएमा ठूला आयोजना पनि समयमै सम्पन्न हुन्छ भन्ने कोसी करिडोरको निर्माणबाट पुष्टि भएको बताए । आयोजनाको प्रथम चरणको कार्यको लागि जस्तै दोस्रो चरणको निर्माण कार्य अर्थात दोस्रो सर्किट तार तान्ने र सम्वन्धित सवस्टेशनहरुको क्षमता विस्तारको लागि आवश्यक अनुमानित लागत ४० मिलियन अमेरिकी डलर नेपाल सरकार मार्फत नेपाल विद्युत प्राधिकरणलाई लगानी जुटाइदिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकेको छ ।
अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणाधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारणलाइन हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो ।
इनरुवामा अहिले २२० केभीको सबस्टेसन निर्माणाधीन छ । उक्त सबस्टेसन निर्माण पूरा नहुन्जेलसम्मका लागि इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारणलाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । संखुवासभाको किंटिगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको हो । प्याकेज २ अन्तर्गत सबस्टेसनहरुको निर्माण र नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाबाट निर्माणाधीन २२०-१३२-३३ के.भी. इनरुवा सबस्टेसन सम्पन्न गरी इनरुवा–वसन्तपुर–वानेश्वर –तुम्लिङ्गटार प्रसारणलाइनलाई डिसेम्बर, २०२१ सम्ममा २२० के.भी. मा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
हाल ३३ केभीमा चार्च गरिएको प्रसारणलाइनमार्फत भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रवाह गरिएको छ ।
यसबाट वर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारणलाइनको समस्या समाधान भएको छ ।
तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारणलाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरु वर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ । संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारणलाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइएको छ । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारणलाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस्