वर्षामा भत्किएको पुल निर्माण हुन सकेन «

वर्षामा भत्किएको पुल निर्माण हुन सकेन

डडेल्धुरा-जिल्लाको भगेश्वरअजयमेरु गाउँपालिका जोड्ने पुल पुनः निर्माण हुन सकेको छैन । भागेश्वर गाउँपालिका–४ डुङ्रीदेखि अजयमेरु गाउँपालिकाको–५ देवल दिव्यपुर जोड्ने सडक खण्डको सेरागाडमा निर्माणाधीन मोटरेबल पुल निर्माणकार्यमा सुस्त हुँदा स्थानीय आक्रोशित भएका छन् ।
पुल वर्षाका कारण गत साउनमा भत्किएको थियो । साउनमा पुल भत्किए पनि हालसम्म सामान्य काम पनि नसकिएको स्थानीयले बताएका छन् । पुल निर्माणका लागि २०७२ भदौ २४ गते बिकोई बिल्डर्स प्रालिसँग ठेक्का सम्झौता भएको डिभिजन सडक कार्यालय कुलपाते दिपायलले जानकारी दिएको छ ।
भ्याटसहित कुल ५ करोड एक लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माणकार्य सम्पन्न गर्न दुई वर्षको समयावधि तोकिएको थियो । २०७४ भदौ २४ गते ठेक्का अवधि सकिएपछि २०७५ भदौ ९ गतेसम्म काम सक्ने गरी म्याद थप गरिएको भए पनि पुल सम्पन्न नहुँदै भत्किएको थियो । अहिले छ सात महिना बितिसक्दा पनि पुल नबन्दा स्थानीय मर्कामा परेका छन् ।
पुल भत्किएकै केही समयपछि निर्माणको काम सुरु गरिएको थियोे । तर सरसमान नआएकाले केही ढिलाइ भएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ । अब केही समयभित्रै पुल निर्माणकार्य सुरु हुने डिभिजन सडक कार्यालय डोटीका इन्जिनियर महानन्द जोशीले बताए । पुल भत्किएपछि निर्माण कम्पनीले झण्डै एक करोड बराबरको क्षति व्यहोर्नु परेको थियो ।
पुल भत्किएसँगै आक्रोशित स्थानीय लई शान्त पार्दै मंसिरसम्म पुलको पुनर्निर्माण गरिने जनाए पनि हालसम्म काम कारबाहीमा ढिलासुस्ती भइरहेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टको भनाइ छ । ४० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको सो पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको स्थानीय वसन्ती पालले बताइन् । खोलामा पुल निर्माण हुने भएपछि स्थानीय खुसी भएक थिए । उनले भनिन, “पुलको निर्माणकार्य अन्तिम चरणमा ढलान गरेकै दिन पूरै पुल भत्किएको थियो । निर्माण कम्पनीले पुनः निर्माण गर्ने भने पनि सुरूवात नै नहुँदा स्थानीय चिन्तित बनेक छन् ।”

प्रतिक्रिया दिनुहोस्