Logo

जोखिमपूर्ण पदार्थ व्यवस्थापन कार्यविधिको मस्यौदा तयार

GettyImages / Romolo Tavani


सरकारले जोखिमपूर्ण पदार्थ व्यवस्थापन कार्यविधिको मस्यौदा तयार गरेको छ । जोखिमपूर्ण फोहोरको सीमापार ओसारपसार, नियन्त्रण र विसर्जन सम्बन्धी बासेल महासन्धीमा सूचीकृत पदार्थ तथा मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने विष्फोटक, ज्वलनशील, चिरस्थायी तथा संक्षारक (कोरोसिभ) गुण भएका र पुनः प्रयोग नगरिएका कच्चा पदार्थबाट प्रशोधन भई पहिलो पटक प्रयोगमा आउन लागेका पदार्थ व्यवस्थापन गर्न कार्यविधिको मस्यौदा तयार पारिएको हो ।
स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक अधिकारको संरक्षण तथा वातावरण नीति, वातावरण संरक्षण ऐन २०७६, वातावरण नियमावली २०७७ र पन्ध्रांै योजनाको कुशलपूर्वक कार्वान्वयनको लागि जोखिमपूर्ण रासायनिक तथा जैविक फोहोरको उचित व्यवस्थापन आवश्यक पर्छ । जोखिमपूर्ण रासायनिक फोहोरको उचित व्यवस्थापन हुन नसक्दा वातावरणको सौन्दर्यमा ह्रास आउनुका साथै मानव लगायत वन्यजन्तु तथा जलचरको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने गरेको छ ।
स्वच्छ र स्वस्थ वातावरण निर्माणका लागि जोखिमपूर्ण फोहोरको उचित ओसार–पसार, संकलन, वर्गिकरण, भण्डारण, प्रशोधन तथा विसर्जन लगायतका फोहोरको उचित व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्ने हँुदा नविनतम प्रविधिको प्रयोग मार्फत जोखिमपूर्ण फोहोरको उचित व्यवस्थापन तथा न्यूनिकरण सम्वन्धी कार्यमा निजी क्षेत्रको सहभागिता अभिबृद्धि गरी वातावरणिय सन्तुलन कायम गर्न सहयोग गर्ने उद्देश्यले वातावरण संरक्षण ऐन २०७६ को दफा ४५ बमोजिम वन तथा वातावरण मन्त्रालयले यो कार्यविधि बनाएको वातावरण विभागले जनाएको छ ।
वातावरण विभागका अनुसार जोखिमपूर्ण फोहोरको सूचिकरण गर्ने, जोखिमपूर्ण फोहोरको वर्गिकरण गर्ने, जोखिमपूर्ण रासायनिक पदार्थको सूचिकरण गर्ने, जोखिमपूर्ण फोहोरको व्यवस्थापन गर्ने, जोखिमपूर्ण फोहोरको ओसार–पसार, संकलन, वर्गिकरण, भण्डारण, प्रशोधन, बिक्री बितरण तथा विसर्जन प्रकृयामा समाहिकरण तथा प्रक्रियागत सहजिकरण गर्न कार्यविधिको मस्यौदा तयार भएको हो ।
रासायनिक तथा जोखिमपूर्ण पदार्थको आयात, सङ्कलन, वर्गिकरण, भण्डारण, प्रशोधन, बिक्रि वितरण, विसर्जन वा ओसारपसार गर्न चाहने व्यक्ति वा संस्थाले वातावरण संरक्षण नियमावली, २०७७ को अनुसुचि –१६ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक मुकुन्द निरौलाले जानकारी गराए ।
“रासायनिक तथा जोखिमपूर्ण पदार्थको आयात, सङ्कलन, वर्गिकरण, भण्डारण, प्रशोधन, बिक्रि वितरण, विसर्जन वा ओसारपसार गर्न चाहने व्यक्ति वा संस्थाले उक्त कार्यको स्टान्डर्ड अपोरेटिङ्ग प्रोसिडर बनाई विभाग समक्ष पेश गर्नु पर्दछ,” उनले भने, “विभागले आवश्यक जाँचबुझ गर्नेः (१) दफा ६ बमोजिम कुनै निवेदन प्राप्त भएमा विभागले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्न अनुगमन टोली खटाउन सक्नेछ ।”

प्रतिक्रिया दिनुहोस्