अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेको सरकारी दाबी «

अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेको सरकारी दाबी


चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त भएकाले अभाव नहुने दाबी सरकारी अधिकारीहरूले गरेका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल आयल निगमले सोमबार राजधानीमा आयोजना गरेको ‘बजार अनुगमन र सरोकारवालाको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वमा बढी खपत हुने चिनीसँगै दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेकाले अभाव नहुने बताए ।
सरकारसँग एक लाख मेट्रिक टन चिनी मौज्दात रहेकाले अभाव नहुने उनको भनाइ छ । उनका अनुसार, वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेकोमा अहिले तीन लाख ५७ हजार मेट्रिक टन चिनीको उपलब्धता छ । चाडपर्वको बेला २० देखि ३० हजार मेट्रिक टन चिनीको खपत हुने गर्छ । उनले भने, “पर्याप्त मात्रामा उद्योगसँग मौज्दात भएकाले उपभोक्ता नआत्तिन र व्यवसायीले बढी मूल्यमा बिक्री नगर्न आग्रह गदर्छु । राज्यको एकाधिकार पेट्रोलियम पदार्थ र नुनमा मात्र छ । अरु सबै खुला बजार अनुरुप निजी व्यवसायीले बिक्री गर्ने गरे पनि मुनाफा र गुणस्तरमा सरकारले हेर्ने गर्छ ।” चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खरिद बिक्री बढी हुने हुँदा उपभोक्ता ठगिन सक्ने हुनाले विशेष, सघन र नियमितरूपमा अनुगमन गरिरहेको उनले जानकारी दिए ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बजारमा वस्तुको गुणस्तर र नापतौलमा धेरै नै समस्या रहेको बताए । “बजारमा अझै पनि उपभोक्ता सचेतनाको अभाव देखिएको छ,” उनले भने, “गलत गरेपछि कानुनी कारबाही हुन्छ भन्ने जानकारी लिनुभन्दा पनि व्यवसायीले भनसुन गरेर छुटाउनेतर्फ बढी लाग्ने गर्दा बजार सुधार हुन सकेको छैन ।”
नेपाल आयल निगमका प्रवक्ता वीनितमणि उपाध्यायले पेट्रोलियम पदार्थको मौज्दात पर्याप्त भएकाले चाडपर्वको बेला अभाव नहुने बताए । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वको बेला बजारमा किनमेल बढी हुँदा व्यवसायीले उपभोक्ता ठग्न सक्ने भएकाले पनि अनुगमनलाई तीव्र पारिएको बताए । बजारमा कुनै पनि वस्तुको अभाव नभएकाले अभाव देखाएर कृत्रिम अभाव गर्नेलाई कारबाही गरिने उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका आपूर्ति समिति सभापति देवेन्द्रभक्त श्रेष्ठले नियतवश गलत गर्ने व्यवसायीलाई कारबाही गर्नुपर्ने र भुलवश गलत गर्ने व्यवसायीलाई कारबाही नगरी छुट दिनुपर्ने बताए । चिनीको आयात नियमितरूपमा भइरहेको र बजारमा कुनै पनि सामानको अभाव नभएको उनको भनाइ छ । बजार अनुगमन व्यवसायीलाई त्रर्साउने भन्दा पनि मैत्रीपूर्ण तरिकाले गर्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले चाडपर्वको बेला वस्तुको मूल्य, गुणस्तर र नापतौलमा उपभोक्ता ठगिन सकिने भएकाले पनि बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । लत्ताकपडामा सेलका नाममा उपभोक्ता ठगिने सक्ने भएकाले विभिन्न व्यापारिक मलले दिने चिठ्ठा र पुरस्कारको पनि अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्