वैदेशिक रोजगारीमा रहेका नेपालीको आपतकालीन उद्दारको संयन्त्र बनाउन माग

प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी ढंगले वैदशिक रोजगारमा गएका नागरिकहरुको आपतकालीन उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
देवेन्द्र पौडेल, विमलप्रसाद श्रीवास्तवलगायतका प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी ढंगले विदेश गई मृत भएका नेपाली नागरिकको परिवारलाई सम्बन्धित पक्षबाट क्षतिपूर्ति उपलब्ध गराउने काममा पनि केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद पौडेलले गैर कानुनी ढंगले गएका तर विभिन्न देशमा बेपत्ता भएका नागरिकहरुको खोजी गरी पीडितलाई न्याय दिने गरी आवश्यक संयन्त्रको निर्माण गर्न सरकारसँग माग गरे । उनले एक वर्ष वितिसक्दा पनि त्यस्ता नेपालीहरुको शव ल्याउने व्यवस्थासमेत नहुने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन नदिन पनि सरकारले आवश्यक संयन्त्रको निर्माण गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।
समितिका सभापति श्रीवास्तवले बैदेशिक रोजगारीको क्रममा मृत भएका नागरिकका पीडित परिवारलाई सम्बन्धित रोजगारदाताबाट क्षतिपूर्ति दिलाउने व्यवस्थालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई निर्देशन दिए । उनले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन समितिले पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।
यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले अभिमूखिकरण कार्यक्रम समेत सञ्चालन गरिरहेको समितिलाई जानकारी गराए । उनले भिजिट भिषामा गएका नेपालीहरुको भने आफ्नो मन्त्रालयसँग आवद्धता हुने व्यवस्था नभएकाले उनीहरुबारे जानकारी राख्न पनि समस्या भइरहेको बताए ।
सचिव गौतमले सरकारले श्रम स्वीकृति नलिई कुनै पनि नेपाली नागरिकलाई वैदेशिक रोजगारी पठाउने नगरेको स्पष्ट पारे ।