गाउँको नेतृत्व गर्दै मालती

बैठक, गोष्ठी र सभासम्मेलनको कुनै ज्ञान थिएन फेदाप गाउँपालिका– ३ ओयाक्जुङकी मालती जोगीलाई । उनको दिनचर्या घरको धन्दा, मेलापात र दाउराघाँसमै बित्ने गरेको थियो ।
पछि परेको समुदायमा पनि अझ जोगी समुदायका महिला थिइन् मालती । यी समुदायका युवा फेरी लगाउन जहान परिवार र नानी छोडी जाने प्रचनल अझै कायमै छ । परम्परादेखि पुख्र्यौली पेशाको रूपमा फेरी लगाउँदै आएका यी समुदायका पुरुष नेपाललगायत भारत, भुटानसम्म पुग्ने गरेका छन् । यहाँका महिलालाई गाउँमा पुरुष नहुँदा गाउँमा विकास निर्माणका साथै सामाजिक काम गर्न धेरै सकस थियो । बैठक सञ्चालन गर्ने कुरा त छाडौं नयाँ मान्छे आउँदा बोल्नै डराउँथे कति महिला त लुक्ने गरेका थिए ।
यसै समुदायमा रहेकी मालती यतिबेला जोगी समुदायमा रहेको समूहको नेतृत्वको जिम्मेवारी बहन गर्दै आएकी छन । देउराली सोसाइटीको सहजीकरणमा गाउँमा गठन भएको पाथिभरा महिला समूहमा आबद्ध भएसँगै सभासम्मेलनमा उनी सहभागी बनेकी थिइन् । समूहको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी उनी जिल्ला सदरमुकाम म्याङलुङलगायत विभिन्न क्षेत्रीयस्तरको कार्यक्रममा सहभागी हुँदै आएकी छन् । आर्थिक विपन्न तथा चेतना विकासले पछि परेको यो समुदायमा उच्च शिक्षा लिने युवा अझै औलामा गन्न सकिन्छन् । मालतीले जोगी समुदायको समस्या यतिबेला पुरुषका बीच खुलेरै राख्ने गरेकी छन् ।
गाउँमा झैझगडा भइहाल्यो भने पनि गाउँलेले उनलाई बोलाउने गरेका छन् । उनी भन्छिन्, “देउरालीले हाम्रो गाउँमा कार्यक्रम सञ्चालन गर्नु नै मेरो भाग्य हो । कार्यक्रमले विभिन्न तालिम, गोष्ठी, सभासम्मेलन तथा नेतृत्व विकासका साथै क्षमता विकासजस्ता कार्यक्रममा सहभागी गराउनु उनको पहिलो खुड्किलो बनेको बताइन् । समूहको नेतृत्वसँगै अहिले व्यवसायी पनि गर्दै आएकी छन् । बिहानै उठी, घरको काम सकेर गाउँमा बैठक र छलफल भए त्यतातिर नभए अकबरे खुर्सानी स्याहारमा लाग्ने गरेकी मालतीले गाउँमा अरु किसानले उत्पादन गरेको खुर्सानी आफैँले खरिद गरेर पूर्वका विभिन्न सहरसम्म लैजाने गरेकी छन् ।
अकबरे खुर्सानीले केही वर्षअघि घरबाट करेसाबारीसम्म मात्र पुराउनुथ्यो भने अहिले उनलाई धनकुटा, धरान र दमकसम्म पु¥याउने गरेको छ । गाउँका अन्य कृषक र समूहका सदस्यहरूले उतपादन गरेको अकबरे खुर्सानी संकलन गरेर बजार पुराउनु मालतीको दैनिकीजस्तै भएको छ । अकबरे खुर्सानीको सिजनमा करिब ५ लाख बढीकोे खुर्सानी किनबेच गर्ने गरेको उनले सुनाइन् । अकबरे खुर्सानीको आम्दानीबाटै उनले परिवारको खर्च जोहो गर्ने गरेकी छन् । वैदेशिक रोजगारीमा रहेका पतिले कमाएको रकम बचत गर्ने गरेको उनको भनाइ छ ।