पुल निर्माण ८० प्रतिशत पूरा «

पुल निर्माण ८० प्रतिशत पूरा

इलाम-इलामको माईखोलामा निर्माणाधीन पुलको काम ८० प्रतिशत सम्पन्न भएको छ । आव ०६९-७० बाट निर्माण सुरु भएको पुलको स्ल्याब ढलान गर्न बाँकी रहेसँगै ८० प्रतिशत सम्पन्न भएको हो ।
पुलको लम्बाइ साढे पाँच सय मिटर छ । माई नगरपालिका–१ र ७ जोड्ने माईखोलामा निर्माणाधीन पक्की पुल २४ करोड लागतमा निर्माण भइरहेको छ । पुल निर्माणकार्य चालू वर्षमा सकिने निर्माण कम्पनीले जनाएको छ । इलाइट कन्स्ट्रक्सनले पुल निर्माण गर्ने जिम्मा लिएको छ । भूकम्प अगाडि सुरु गरिएको निर्माणकार्य भारतीय नाकाबन्दीले असर गरेका कारण ढिलाइ भएको जनाइएको छ । यो वर्षबाट मानिस आवतजावत गर्न मिल्ने गरी निर्माण सकिने निर्माण कम्पनीले जनाएको छ ।
पुलको साइटमा फुटपाथसहित नौ मिटर चौडाइ छ । निर्माण कम्पनीका कर्मचारी भीमप्रसाद मैनालीले पुलको नौवटा बीम र तीनवटा स्ल्याब ढलान गर्न बाँकी रहेको वताए । उनले बीचमा पुल जोडिने र यसै वर्षदेखि मानिस ओहोरदोहोर गर्न सकिने गरी निर्माण पूरा हुने जानकारी दिए । पुलको वारिपारि जम्मा एक किमि कालोपत्रे गर्नका लागि तयारी सुरु भएको र बेस सामग्री तयारी अवस्थामा रहेको उनले बताए । माई नगरपालिका–१ को दानाबारीतर्फ केही रुख बिरुवा रहेको र जग्गा विवादका कारण सडक निर्माण सुरु हुनसकेको छैन । जग्गा विवादपछि स्थानीयबीच दोहोरो छलफल भइरहेको र चाँडै सहमति भएमा सडकको कामसमेत थालिने भएको छ ।
इलामको दानाबारी र महमाई जोड्ने पुल नहुँदा वर्षायाममा माईखोलामा डुंगा चलाएर साथै हिउँदमा बाँसको फड्के निर्माण गरेर आवतजावतको ब्यवस्था मिलाइने गरेको छ । पुल समयमा निर्माण नहुँदा २०७३ डुंगा दुर्घटनामा केहीले ज्यान गुमाउनु परेको थियो ।
माईखोला पुल निर्माण भएपछि इलामका दानाबारी, महमाई, लारुम्बा, इभाङ र रवि क्षेत्रका बासिन्दालाई यातायात सञ्चालनमा सघाउ पुग्ने भएको छ । ज्यादा लम्बाई भएका कारण निर्माणकार्यमा सरकारी निकायले पनि बेवास्ता गरेपछि स्थानीयको चर्को मागका कारण त्यहाँ पुल निर्माण सुरु गरिएको थियो । समथर भूमि भएका कारण लम्बाइ बढेको र लम्बाई धेरै भएका कारण खर्च धेरै लाग्ने भएपछि सरकारी निकायबाट यहाँ पुल निर्माणमा चासो देखाइएको थिएन ।
खोलामा पुल निर्माण भएपछि पाँचथरको राँके, रविलगायत ताप्लेजुङ, इलाम र तराईका जिल्लाबाट पहाडी जिल्ला जोड्नका लागि सहज हुने भएको छ । हाल पुल नभएका कारण हिउँदका दिनमा मात्र सवारी सञ्चालन हुने गरेको छ । सो क्षेत्रका स्थानीयले बर्खायाममा माईवारपार गर्न नसक्दा बिरामी पर्दा ज्यानै फाल्नुपर्ने बाध्यता हट्ने भन्दै स्थानीय खुसी भएका छन् ।
दैनिक सयौं सवारी सञ्चालन हुने सो सडकमा हिउँदको दिनमा खोला वारपार गर्दा समस्या रहँदैन । खोलाको भाग फराकिलो भएको र पानी पनि घट्नाले हिउँदमा सवारी सञ्चालन गर्न कुनै समस्या नरहेको सवारी चालक याम राईले बताए ।
टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्