महालक्ष्मी लाइफको बिमा जागरण राष्ट्रिय अभियान «

महालक्ष्मी लाइफको बिमा जागरण राष्ट्रिय अभियान

महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा वर्गमा बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘युवासँग महालक्ष्मी लाइफ’सम्बन्धी बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । यही भदौ २५ गतेको सञ्चालक समितिको निर्णयानुसार आउँदो महिनाबाट देशव्यापी बिमा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको कम्पनीका प्रमुख कार्यक्रमारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।
दुई वर्षे यस अभियानमा आ.व.२०७८/०७९ भित्र २५ वटा जिल्ला र आ.व. २०७९/०८० मा बाँकी जिल्लामा कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ । यो कार्यक्रमअन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्ययन गर्ने विद्यालय र कलेजका युवालाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरूको जानकारीको साथै बिमाको बारेमा तालिम प्रदान गरिने उनले बताए ।
‘काम गरी आयआर्जन गर–बिमा गरी सुरक्षित बन’ भन्ने मूल विषयवस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवी र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरूले प्रशिक्षण दिने उनले बताए । प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देशभरिका कम्पनीका वरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बिमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समिति गठन गरिने र जिल्ला–जिल्लामा प्रभावकारी रूपमा बिमा जागरण कार्यक्रम सञ्चालन गर्न कम्पनीको जिल्लास्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन हुने उनले बताए ।
प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरूले कार्यक्रमको निर्धारण, सञ्चालन र अनुगमन गर्नेछन । पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरूको भेलाले बिमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समितिको गठन र नामावलीको घोषणा गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्